अवरुद्ध बेनी–जोमसोम सडक एकतर्फीरुपमा सञ्चालन




बेनी । कालीगण्डकी नदीमा आएको बहावले कटान गरेपछि बिहीबारदेखि अवरुद्ध बनेको बेनी–जोमसोम सडक शनिबार साँझदेखि खुलेको छ ।

हिमालपारिको जिल्ला मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडकको अवरुद्ध भिरकाटे खण्डमा मर्मतपछि एकतर्फी रुपमा सञ्चालनमा आएको हो ।

वर्षाका कारण कालीगण्डकी नदीमा आएको बहावले अन्नपूर्ण गाउँपालिका–६, भिरकाटेमा बेनी–जोमसोम सडकखण्डअन्तर्गतको अन्दाजी ३० मिटर सडक कटान गरेको थियो भने झन्डै १०० मिटर सडक प्रभावित बनाएको थियो । अवरुद्ध सडक खुलाउनका लागि जिल्लास्थित सुरक्षा निकाय र अन्नपूर्ण गाउँपालिकाले पहल गरेका थिए ।

उनीहरुको पहलमा सडक विभागको डोजर, दानामा निर्माणाधीन सवस्टेसनका २ वटा र घलेम्दीखोला जलविद्युत् आयोजनाको एकवटा ट्रिपर परिचालन गरी सडकको अस्थायी मर्मतपछि एकतर्फी रुपमा खुलाइएको छ । अवरुद्ध सडक खुलाउन स्थानीय जनप्रतिनिधि, स्थानीयवासी, प्रहरी, यातायात व्यवसायीलगायतले प्रयास गरेका थिए ।

डोजरको सहायतामा नदी र सडकको छेउछाउमा ठूलाठूला ढुङ्गा राखेर बाँध बानिएको अन्नपूर्ण गाउँपालिकाका प्रमुख क्याप्टेन डमबहादुर पुनले बताए। सडक सञ्चालनमा आएपछि भिरकाटेमा रोकिएका सानाठूला सबै सवारीसाधन पास गराइएको छ भने सिधा सडकको सम्बन्धविच्छेद भएको हिमाली जिल्ला मुस्ताङसँग पुनः सम्बन्ध जोडिएको छ । रासस


पुष्प दुलाल