टेलिकमको ल्याण्डलाइन सेवा नयाँ प्रविधिमा स्तरोन्नती



काठमाडौं। नेपाल टेलिकमले हाल संचालनमा रहेका पुराना प्रविधिका पिएसटीएन (ल्याण्ड लाइन) टेलिफोन सेवाको गुणस्तर अभिबृद्धि हुने गरी नयाँ प्रविधिमा परिवर्तन गर्न शुरु गरेको छ ।

नेपाल टेलिकम सञ्चालक समितिका अध्यक्ष तथा सूचना तथा सञ्चार मन्त्रालयका सचिव महेन्द्रमान गुरुङ्गले शुक्रबार कम्पनीको ललितपुर ग्वार्कोस्थित टेलिफोन एक्सचेन्जमा नयाँ प्रविधिको पिएसटिएन टेलिफोन लाइनबाट कुरा गरी सो कार्य शुरु गरे । साथै उनले पुरानो टिडिएम प्रविधिको स्वीचिङ उपकरणलाई नयाँ प्रविधिको आइ पी वेस्ड उपकरणबाट प्रतिस्थापन गर्दै स्तरोन्नती गर्ने कार्यको पनि शुरुवात गरे ।

शुक्रवार नै नेपाल टेलिकमले ग्वार्को एक्सचेन्जका सम्पूर्ण ४ हजार २ सय २४ लाइन टेलिफोन सफलतापूर्वक प्रतिस्थापन गरेको जानकारी दिएको छ ।

आगामी दुई महिना भित्रमा मुलुकका एक लाख ३४ हजार पिएसटिएन टेलिफोन लाइनका उपकरणहरुलाई आइ पी वेस्ड उपकरणबाट प्रतिस्थापन गरिने टेलिकमको लक्ष्य रहेको छ । आगामी आर्थिक वर्ष भित्रमा कुल चार लाख ल्याण्ड लाइन सेवालाई यस प्रविधिबाट प्रतिस्थापन गरिसक्ने कार्यक्रम रहेको छ । साथै त्यसपछि बाँकि ल्याण्डलाइन सेवालाई पनि क्रमशः आइ पी वेस्ड प्रविधिमा रुपान्तरण गर्दै लैजाने लक्ष्य राखेको छ ।

आइ पी वेस्ड उपकरणबाट प्रतिस्थापन गरेपछि ल्याण्डलाइन प्रविधिको भ्वाइस तथा डाटा सेवाको गुणस्तरमा उल्लेखनीय सुधार हुनेछ । यस प्रविधि अन्तर्गतका एक्सचेन्जहरुबाट ग्राहकको मागअनुरुप एडिएसएल लाइन उपलब्ध गराउन समेत सम्भव हुनेछ । साथै भविष्यमा ल्याण्डलाइन सेवामा आधारित अन्य आधुनिक सेवा जस्तै: आइपिटिभि, भिडियो अन डिमान्ड (IPTV, Video On Demand) आदि सेवा समेत प्रदान गर्न मद्दत पुग्ने कम्पनीले उल्लेख गरेकोछ ।

कम्पनीका अध्यक्ष तथा सूचना तथा सञ्चार मन्त्रालयका सचिव गुरुङ्गले प्रविधिमा भएको परिवर्तनलाई आत्मसात गर्दै ग्राहकलाई केन्द्र बिन्दुमा राखेर गुणस्तरीय सेवा सुविधा प्रदान गर्न र आक्रामक बजार रणनिति बनाई त्यसैअनुसार आगामी दिनमा कार्य गर्न आग्रह गरे ।

सो कार्यक्रममा नेपाल टेलिकमका प्रबन्ध निर्देशक कामिनी राजभण्डारीले २५ वर्ष अघि स्थापित डिजिटल प्रविधिका उपकरणलाई प्रविधिको विकासक्रम अनुरुप आधुनिक आइ पि वेस्ड प्रविधिमा रुपान्तरण गरी उपभोक्ताको माग अनुरुपको भ्यालुएडेड सेवा समेत वितरण गर्न सकिने गरी स्तरोन्नती गर्न आरम्भ गरिएको बताइन् ।

कार्यक्रममा वायरलाइन तथा ग्राहक सेवा निर्देशनालयका निर्देशक देवनारायण यादवले सञ्चालनमा रहेका पिएसटिएन प्रविधि अन्तर्गतका सम्पूर्ण लाइनको रुपान्तरण कार्यक्रम अनुरुप समयमै सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

नेपालमा ल्याण्डलाइन प्रविधिको सेवा नेपाल टेलिकमले मात्रै उपलब्ध गराउँदै आएको छ ।


क्लिकमान्डु