पुराना नेपाली नोटको प्रदर्शनी कला परिषद्मा



काठमाडौँ। नेपाल फिलाटेलिक सोसाइटीले आफ्नो स्वर्ण उत्सवका उपलक्ष्यमा आजदेखि नेपाली नोटको प्रदर्शनी सुरु गरेको छ ।

तीन दिनसम्म नेपाल कला परिषद्मा सुरु भएको प्रदर्शनीमा विसं २००२ मा छापिएका ५, १० र १०० रुपैयाँ तथा त्यसपछि छापिएका मुद्राको सङ्कलन छ । उन्नाइस सङ्कलकले सङ्कलन गरेका विभिन्न्न मुलुकका नोट पनि समावेश गरिएको छ ।

प्रदर्शनीको उद्घाटन गर्दै नेपाल राष्ट्र बैङ्कका गभर्नर डा चिरञ्जीवी नेपालले पुराना सिक्का तथा नोटले तत्कालीन समाजको विकास क्रम तथा सभ्यतालाई बुझाउने हुँदा तिनको संरक्षण गर्नुपर्नेमा जोड दिए । उनले नेपाली नोट छपाइका लागि विदेशमा लैजानुपर्ने बाध्यता रहेको बताउँदै त्यसका लागि ठूलो धनराशि खर्च हुने गरेकाले सर्वसाधारणलाई नोट जतन गर्न सुझाव दिए।

मुद्रा सङ्कलक जयहरि झा, कार्यक्रमका संयोजक सागरमान श्रेष्ठलगायतले स्वदेशमा विभिन्न राष्ट्रका नोट प्रदर्शन गरी त्यसबारे जानकारी दिने उद्देश्यले सो कार्यक्रम आयोजना गरिएको बताए ।

२०२३ सालदेखि सो संस्थाले प्रत्येक दुई दुई वर्षमा प्रदर्शनी गर्दैआएको छ । मुद्रा झासँग सदर मुलुकीखाना रहँदाका तीन खचाञ्जी र राष्ट्र बैंक स्थापना भएपछिका १७ गभर्नरका सही भएका नोटहरुको सङ्कलन छ ।

सोसाइटीका अध्यक्ष शङ्कर श्रेष्ठले अन्तर्राष्ट्रिय तहमा समेत हुलाक टिकट प्रदर्शन गरी नेपालका सम्पदा तथा मुद्राका बारेमा जानकारी गराउन प्रदर्शनी उपयोगी हुने विश्वास व्यक्त गरे।


क्लिकमान्डु