अर्थमन्त्रीले भनेः राजस्व चुहावटमा शुन्य सहनशीलताको नीति लिइन्छ




काठमाडौं । अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की राजस्व चुहावट नियन्त्रणमा कडाइका साथ लाग्ने भएका छन् । बुधबार अर्थमन्त्रालयमा राजस्व चुहावट नियन्त्रण समितिको बैठक राखी अर्थमन्त्री कार्कीले राजस्व चुहावटमा शुन्य सहनशीलताको नीति लिने बताएका हुन् ।

छलफलमा अर्थसचिब डा. शान्तराज सुबेदी, राजस्व सचिब शिशिर कुमार ढुंगाना, अर्थ तथा गृह मन्त्रालयका अधिकारी, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बलका महानिरिक्षक लगायतका पदाधिकारी तथा राजस्व संकलनसँग सम्बन्धित विभागका प्रमुखहरुको उपस्थिति थियो ।

बैठकमा अर्थमन्त्री कार्कीले अर्थमन्त्रालय राजस्व चुहावट नियन्त्रणमा प्रतिबद्ध रहेको, राजस्व चुहावट नियन्त्रणमा शुन्य सहनशीलताको नीति लिने, राजस्व चुहावट नियन्त्रणमा संलग्न राजस्व प्रशासन, स्थानीय प्रशासन र सुरक्षा निकायहरुबीच सुचना आदान प्रदान र समन्वय गरी चुहावट नियन्त्रण गर्नुपर्ने बताए ।

अर्थमन्त्रालयले दिएको जानकारी अनुसार मन्त्री कार्कीले ब्यवसायिक वातावरण विग्रन नदिइ चुहावट नियन्त्रणमा संलग्न सबै निकायहरुले आआफ्नो जिम्मेवारीमा रही चोरी पैठारी तस्करी नियन्त्रण गरी राजस्व संकलनको तोकिएको लक्ष्य हासिल गर्नुपर्नेतर्फ ध्यान दिन निर्देशन दिए ।

अर्थसचिब डा. सुबेदीले विभागीय प्रमुखहरुको नियमित बैठक बसी समन्वयात्मक हिसाबले अनुसन्धान गर्ने र करको दायरामा नआएका करदाताको अनुसन्धान र निगरानीलाई जोड दिने तथा चुहावट नियन्त्रणका लागि केन्द्रस्तर र जिल्लास्तरका चुहावट नियन्त्रण समितिहरुको बैठक नियमित बसी समन्वयात्मक काम गर्न निर्देशन दिए ।

यस्तै राजस्व सचिब ढुंगानाले राजस्व चुहावट नियन्त्रणमा खटिएका सुरक्षाकर्मीहरुले सम्बन्धित राजस्व कार्यालयका प्रमुख नेतृत्व र निर्देशनमा छानविन तथा अनुसन्धान कार्य गर्ने, उच्चस्तरीय राजस्व चुहावट नियन्त्रण समितिबाट भएका निर्णयहरुलाई सबै निकायहरुले दृढतापूर्वक कार्यान्वयन गर्ने र संबेदनशील नाका र बस्तुको यकिन गरी नियमित रुपमा अनुगमन गर्न निर्देशन दिए ।

कार्यक्रममा अर्थमन्त्रालयको राजस्व ब्यवस्थापन महाशाखाका प्रमुख विष्णु नेपालले यसअघिका बैठकमा भएका निर्णयहरुको समीक्षा गरेका थिए ।


क्लिकमान्डु