मुग्लिन-नारायणगढ सडकमा आजदेखि राती गाडी चलाउन प्रतिबन्ध



काठमाडौं। मुग्लिन नारायणढ सडक खण्डमा राती सवारीसाधन चलाउन नपाइने भएको छ ।

पहिरोका कारण बाटो बिग्रिएपछि जोखिम उत्पन्न भएको भन्दै सरकारले राती सवारी साधन गुडाउन नदिने भएको हो ।

राती सवारीसाधन चलाउन नदिएर रातभर बाटो निर्माण गर्न लागिएको हो । राजधानी जोड्ने लाइफलाइन यो सडक सडक निर्माणको क्रममा कालीखोलामा दैनिक पहिरो गइरहेको छ, जसले हजारौं यात्रीलाई अलपत्र बनाउँदै आएको छ। त्यतिमात्रै होइन, केहीले त ज्यानसमेत गुमाइसकेका छन् ।

व्यवस्थापिका संसदको विकास समितिको मंगलबार बसेको बैठकले राती सवारी रोकेर सडक निर्माणको काम तीब्र गतिमा अघि बढाउन निर्देशन पनि दिएको छ ।

समितिले गृहमन्त्रालयमा पत्र पठाएर डेढ महिनाका लागि राती सवारी चलाउन नदिन निर्देशन दिएको हो ।

सडक विभागका महानिर्देशक गोपाल सिग्देलले गृहमन्त्रालयबाट आफूहरुलाई आज रातीदेखि रातीको समयमा गाडी चल्न नदिई निर्माण कार्य तीब्र बनाउन निर्देशन आएको र सोही निर्देशन अनुसार काम गर्ने जानकारी दिए ।


पुष्प दुलाल