नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा



चितवन । पहिराले अवरुद्ध मुग्लिन सडक आज बिहान १०ः३० बजेदेखि सञ्चालनमा आएको छ ।

नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत इच्छाकामना गाउँपालिका– ६ को चार किलो भन्ने स्थानमा खसेको पहिरो पन्छाइएपछि अहिले यातायात सञ्चालनमा आएको चितवनका प्रहरी उपरीक्षक दीपक थापाले जानकारी दिए ।

पहिराका कारण रोकिएका सवारी अहिले गन्तव्यतर्फ जान थालेको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ । बिहान ९ बजे खसेको पहिरो हटाएर यातायात सञ्चालन गरिएको हो ।

उक्त सडकमा चितवन हुँदै काठमाडौँ र पोखरा जाने आउने सवारी बढी हिँड्छन् । यहाँ दैनिक १० हजार बढी सवारी गुड्ने गर्छन् । असार महिना लागेपछि यहाँ हरेक दिनजसो पहिरो खसेर यात्रु सास्तीमा पर्दैआएका छन् । २ दिनअघि यहाँको कालीखोलामा खसेको पहिराका कारण ३४ घन्टासम्म सवारी जाममा परेको थियो ।

पहिरामा परेर असार महिनामा मात्रै २ प्रहरीसहित ३ जनाले ज्यान गुमाएका छन् भने एक प्रहरी अझै बेपत्ता छन् । यसअघि गत चैतमा उक्त सडकको घुमाउनेमा पहिरो जाँदा २ जनाको च्यापिएर मृत्यु भएको थियो । चितवनका ट्राफिक प्रहरी प्रमुख सन्तोष पन्त मुग्लिन सडक जोखिममा रहेकाले चालकलाई वैकल्पिक सडक प्रयोग गर्न आग्रह गरेका छन् । रासस


पुष्प दुलाल