एडिसिभ सिमेन्ट अब नेपालमै उत्पादन हुने




काठमाडौं । स्थायी तथा अस्थायी संरचनाको निर्माण गर्दा इटाको विकल्पमा प्रयोग गरिने इको प्यानलको जोडाइमा प्रयोग हुने एडिसिभ सिमेन्टको उत्पादन नेपालमा सुरु भएको छ । एडिसिभ सिमेन्टको उत्पादन गोर्खा इको प्यानलले सुरुवात गरेको हो ।

एडिसिभ सिमेन्ट इको प्यानलको जोडाइका साथै बाथरुम र किचेनका टायलहरु टाँंस्न प्रयोग गरिन्छ । इको प्यानलको जोडाइमा प्रयोग हुने सिमेन्ट अन्य सिमेन्ट भन्दा फरक हन्छ । सामान्य सिमेन्ट भन्दा यसको कम्प्रेशिभ स्ट्रेन्थ (जोडाई क्षमता) मजबुत हुने भएकाले इको प्यानलको जोडाईमा प्रयोग गरिन्छ ।

यसअघि चीनबाट आयातित गरिआएकोमा अहिले बहराइनस्थित साझेदार कम्पनी अल खाजाको प्रविधि नेपालमा भित्राइ यसको उत्पादन नेपालमै सुरु गरेको गोर्खा इको प्यानलका प्रमुख कार्यकारी अधिकृत (सिईओ) ईन्जिनियर कृष्णभक्त दुवालले बताए ।

भारतबाट आयातित प्रिफ्याब प्यानलहरुले ज्वाइन्टमा सिमेन्टको प्रयोग नगरे पनि गोर्खा इको प्यानलले यो सिमेन्ट प्रयोग गर्दै आएको सिईओ दुवालले बताए । ल्याबमा पूर्ण परीक्षण पश्चात मात्रै यो सिमेन्ट बजारमा पठाउने उनले बताए ।

सकेसम्म अत्याधिक स्वदेशी कच्चा पदार्थको प्रयोगबाट यो सिमेन्टको उत्पादन थालेको उनले जनाए ।

एडिसिभ सिमेन्टको प्रयोगले इको प्यानलमा भएका टंङ्ग एण्ड ग्रुभको जोडाई मजबुत हुने उनले बताए । ल्यावमा परीक्षण गर्दा यसको कम्प्रेशिभ स्ट्रेन्थ ४० एमपीए रहेको जनाइएको छ । जुन, अन्य सिमेन्टमा भन्दा धेरै हो । यो एडिसिभ सिमेन्ट चाँंडो सुक्ने भएकोले काम गर्न सहज हुने बताइएको छ ।

एडिसिभ सिमेन्ट ५० केजिको बोरामा उपलब्ध छ ।


पुष्प दुलाल