खानी पत्ता लगाउन नयाँ प्रविधिको प्रयोग गरिने



काठमाडौँ। खानी तथा भूगर्भ विभागले नेपालमा रहेका खानीको अध्ययन नयाँ प्रविधिबाट गर्ने भएको छ ।

विभागले नयाँ प्रविधिको खनिजको विकासका लागि नयाँ प्रविधिबाट अध्ययन गर्न लागेको हो । विभागले खनिज खोजतलासका लागि हाल पुराना प्रविधिको प्रयोग गर्दै आएपनि अब भने नयाँ प्रविधिको प्रयोग गर्ने भएको छ ।

विभागका प्रवक्ता कृष्णदेव झाले ३०औँ वर्षका पुराना मेसिनले काम गर्न नसक्ने भएपछि नयाँ प्रविधि झिकाएर अध्ययन गर्न लागेको जानकारी दिए ।

‘खानी नयाँ प्रविधिबाट अध्ययन गर्नका लागि हामीले एसआरएफ, जिपिआर र डाइमन्ड ड्रिलकोर मेसिन भित्र्याउन लागेका छौँ,’ उनले भने।

सो मेसिन भित्र्याउनका लागि विभागले एक करोड ५० लाख रुपैयाँ बजेट समेत छुट्याइसकेको र यही महिनाभित्र मेसिन विभागमा आइपुग्ने प्रवक्ता झाले बताए ।

‘यसअघि खानीमा रहेको वस्तु प्रयोगशालामा ल्याएर जाँच गरेर कस्तो प्रकारको खनिज रहेछ भन्ने पत्ता लगाउँथ्यौँ यो मेसिन भित्रिएपछि कुन खनिज हो भन्नेबारे खनिज रहेको स्थलमा नै थाहा हुन्छ,’ प्रवक्ता झाले भने।

हाल नेपालमा १२३ खानी सरकारी तथा निजी क्षेत्रलाई प्रयोग गर्न विभागले अनुमति दिए पनि ८० खानी मात्र प्रयोगमा रहेको विभागले जनाएको छ ।


क्लिकमान्डु