एफएनसीसीआइको रिक्त भएको उपाध्यक्ष पदमा निर्वाचन हुने



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको उद्योग वाणिज्य संघ समूहको रिक्त भएको उपाध्यक्ष पदका लागि निर्वाचन हुने भएको छ ।

हासंघका अध्यक्ष भवानी राणाको अध्यक्षतामा बुधवार बसेको कार्यकारिणी समितिको दोस्रो बैठकले रिक्त भएको पदमा निर्वाचनद्धारा उपाध्यक्ष पदपूर्ति गर्ने निर्णय गरेको छ ।

महासंघको हालको विधानको दफा ५६(३) अनुसार सम्बन्धित क्षेत्रबाट रिक्त उपाध्यक्ष पदपूर्ति गर्ने निर्णय भएसगै नयाँ उपाध्यक्षको लागि चुनाव हुने भएको हो । यो पद रिक्त हुनुअघि उद्योग वाणिज्य संघ समूहको रिक्त भएको उपाध्यक्ष पदमा प्रमोद श्रेष्ठ निर्वाचित भएका थिए । उनि स्थानिय तहको चुनावमा म्याग्दी नगरपालिकामा नगरप्रमुखमा उम्मेद्वार भएपछि सो पद रिक्त भएको हो ।

यसका साथै महासंघले संशोधित विधानमा रहेको व्यवस्था अनुसार प्रदेशबाट निर्वाचित अध्यक्षहरू र मनोनित सदस्यहरूलाई महासंघको कार्यकारिणी समिति सदस्यको शपथ ग्रहण गराएको छ ।

महासंघको कार्यकारिणी समिति सदस्यमा प्रदेशबाट निर्वाचित भएर आएका अध्यक्षहरूमा प्रदेश नम्वर १ बाट नरेन्द्र कुमार खड्का, प्रदेश नं २ बाट, शिवशंकर साह(हिरा), प्रदेश नं ३ बाट दिनेश श्रेष्ठ, प्रदेश नं ५ बाट गुणनिधि तिवारी, प्रदेश नं ६ बाट पद्म बहादुर शाही, प्रदेश नं ७ बाट शंकर बोगटी र मनोनित सदस्यमा महिला उद्यमी महासंघका अध्यक्ष शारदा रिजाल छन् ।

महासंघले बैठकबाट अनुसन्धानका नाउँमा आफ्नो क्षेत्राधिकार भन्दा बाहिर गई उद्यमी व्यवसायी माथि गरिएका धरपकड तथा मुद्दा लगायतका कार्यहरूबाट उद्यमी व्यवसायीहरूमा त्रासको वातावरण सृजना हुन गएको र उद्योग व्यवसायनै बन्द हुने परिस्थिति निर्माण हुँदै गएकाले तत्काल त्यस्ता गतिविधि रोक्न सम्बन्धित निकायको ध्यानाकर्षण गराउने निर्णय पनि गरेको छ ।

त्यसैगरि बैंकहरूले पटकपटक बढाएको चर्को बैंक व्याजदर वृद्धिका सम्बन्धमा बैंकर्सहरूसंग अबिलम्व छलफल गरी समाधानका लागि पहल गर्ने, सरकारी इजाजत लिई वर्षौदेखि संचालमा रहेका रोडा ढुंगा वालुवा, प्लाष्टिक्स लगायतका उद्योग व्यवसायहरूलाई अपरझट मापदण्ड परिवर्तन गरी संचालनमा अवरोध गरिँदा यस क्षेत्रमा लगानी गर्ने उद्योगी व्यवसायीहरू संकटमा परेकाले यस सम्बन्धमा सरकारको ध्यानाकर्षण गराउने, उद्यमी व्यवसायीहरुको सूरक्षाको प्रत्याभूति गराउनेलगायतका निर्णयहरु गरेको महासंघले जनाएको छ ।


क्लिकमान्डु