गोला प्रथाबाट १५ सय भूकम्प पीडितलाई ट्याक्सी



काठमाडौं । सरकारले भूकम्प पीडितलाई बुधरबारबाट ट्याक्सी नम्बर प्लेट वितरण गर्ने भएको छ । सरकारले भुकम्पबाट अतिप्रभावित १४ जिल्लाका १ हजार ५ सय जनालाई गोला प्रथाद्वारा ट्याक्सी नम्बर प्लेट वितरण गर्न लागेको हो ।

यातायात व्यवस्था विभागका अनुसार काभ्रेपालान्चोक, नुवाकोट, रामेछाप, सिन्धुपाल्चोक, दोलखा, सिन्धुली, काठमाडौं, भक्तपुर, ललितपुर, रसुवा, गोरखा, ओखलढुगा, धादिङ, मकवानपुरका एक हजार ५ सय भुकम्प पिडितलाई ट्याक्सी नम्बर बाड्न लागिएको हो ।

विभागले पहिलो दिन असार ७ गते बुधबार ३ जिल्ला काभ्रेपालान्चोक, नुवाकोट र रामेछापका ४ सय ९१ जनालाई ट्याक्सी नम्बर प्लेट वितरण गर्ने जनाएको छ । ट्याक्सी नम्बर प्लेटका लागि ३ जिल्लाबाट ४८ हजार ९ सय ६५ जनाले आवेदन दिएका थिए ।

दोस्रो दिन असार ८ गते सिन्धुपाल्चो, दोलखा र सिन्धुलीका ५ सय १३ जनालाई ट्याक्सी नम्बर प्लेट वितरण गर्नेछ । ३ जिल्लाबाट ट्याक्सी नम्बर प्लेटका लागि ५१ हजार ३ सय १२ जनाले आवेदन दिएका थिए ।

असार ९ गते काठमाडौं, भक्तपुर, ललितपुर, रसुवा, गोरखा, ओखलढुगा, धादिङ, मकवानपुरका ४ सय ९६ जना भूकम्प पिडितलाई ट्याक्सी नम्बर प्लेट वितरण गरिनेछ । ८ जिल्लाका ४९ हजार ३ सय ११ जनाले ट्याक्सी नम्बर प्लेटका लागि आवेदन दिएका थिए ।

भूकम्प पिडितबाट अधिक पिडित १४ जिल्लाका जनतासँग गत साउन ५ गतेदेखि भदौ ५ गतेसम्म आवेदन माग गरिएको थियो । एक लाख ४९ हजार ५ सय ८८ जनाले ट्याक्सी नम्बर प्लेटका लागि आवेदन दिएका थिए । जसमध्ये एक हजार ५ सयलाई ट्याक्सी नम्बर प्लेट वितरण गर्न लागिएको हो ।


पुष्प दुलाल