प्रमोद श्रेष्ठः ४४ मतले मेयरको चुनाब हारे, एफएनसीसीआइको उपाध्यक्ष पद पनि गुम्यो



काठमाडौं। निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष प्रमोद श्रेष्ठको पद खारेज भएको छ । महासंघको जिम्मेवार पदमा रहँदा रहँदै श्रेष्ठले सक्रिय राजजीति गरेको भन्दै उनको पद खारेज गरिएको हो ।

महासंघको मंगलबार बसेको कार्यसमिति बैठकले श्रेष्ठलाई महासंघको जिल्ला तथा नगरको उपाध्यक्ष पदबाट हटाएको हो ।

श्रेष्ठ गत बैशाख ३१ गते भएको पहिलो चरणको स्थानीय तहको निर्वाचनमा नेकपा एमालेका तर्फबाट म्याग्दीको बेनी नगरपालिकाको मेयरमा उठेका थिए ।

मेयरको चुनाबमा श्रेष्ठ नेपाली कांग्रेसका उम्मेदवार हरिकुमार श्रेष्ठसँग ४४ मतले हारेका थिए ।

महासंघ विधानको दफा ४६ अनुसार ‘कार्यकारिणी अधिकार भएको कुनै राजनीतिक प्रकृतिको पदमा नियुक्त भएमा वा निर्वाचित भएमा अध्यक्ष, बरिष्ठ उपाध्यक्षहरु र कोषाध्यक्ष पद रिक्त हुने’ प्रावधान छ ।

गत चैत मसान्तमा भएको महासंघको ५१औं साधारणसभामा जिल्ला नगर तर्फबाट उपाध्यक्ष निर्वाचित भएका थिए । महासंघमा निर्वाचित भएको ३ साता नवित्दै एमालेबाट बेनी नगरपालिकाको मेयरको उम्मेद्वार बनेका थिए ।

महासंघले श्रेष्ठलाई स्पष्टीकरण सोधेको थियो। स्पष्टीकरण चित्तबुझ्दो स्पष्टीकरण नदिएपछि महासंघकी अध्यक्ष भवानी राणाको प्रस्ताबमा कार्यसमिति बैठकले श्रेष्ठलार्इ पदबाट हटाएको हो ।

रिक्त रहेको पदमा फेरि निर्वाचन गर्नुपर्ने महासंघको बिधानमा उल्लेख छ ।


पुष्प दुलाल