यी हुन् नेपाली सडकमा गुड्ने महंगा बाइक



काठमाडौं । सार्वजनिक सवारीको सहज उपलब्धता नहुँदा त्यसको विकल्पको रुपमा सहज र छिटो याात्राका लागि मोटरसाइकल चढ्नेहरुको संख्या सहर तथा ग्रामिण क्षेत्रमा बढ्दै गइरहेको पाइन्छ ।

आवश्यकताका लागि मोटरसाइकल चढ्नेहरुको संख्या अत्याधिक रहेको दर्ता भएको संख्याले नै पुष्टि गर्दछ । हालसम्म देशभर करिब १६ लाख मोटरसाइकल दर्ता भइ संचालनमा रहेका छन् ।

साना तथा मध्यम (१०० देखि ३०० सीसीसम्म) क्षमताका मात्र होइन हेभी (४ सय सीसीभन्दा माथि) मोटरसाइकल चढ्नेहरुको संख्या समेत वृद्धि हुँदै गइरहेको छ । यस्ता मोटरसाइकलहरु आवश्यकताभन्दा मोटरसाइकलका सौखिनहरुले चढ्ने गरेका छन् ।

यस्ता मोटरसाइकल मुख्य गरि चारपांग्रे सवारी भएका तर मोटरसाइकल चलाउन रुची हुनेहरुले खरिद गर्ने गरेका छन् । त्यस्तै हेभी मोटरसाइकलहरु नै चढ्ने चाहना हुनेहरुले पनि हाइ रेन्ज मोटसाइकल किन्ने गरेका छन ।

नेपालमा हाई रेन्जका मोटरसाइकल कि त गाडी हुनेहरुले चढ्छन कि त मोटरसाइकलका सौखिनहरुलले चढ्ने गरेका छन् । पछिल्लो समय झनै मोटरसाइकल लोकप्रिय हुँदै गइरहेको पाइन्छ ।

हाई रेन्जका मोटरसाइकलहरु स्पोर्टी हुने र यस्ता मोटरसाइकल कुदाउन नेपालमा पर्याप्त बाटो नभएपनि युवाहरुको रोजाइमा पर्ने नै गरेको व्यवसायीहरु बताउँछन् । यो मोटरसाइलमा हुने मूल्य त्यतिधेरै बाधक बनेको पाइदैन ।

गाडी हुनेहरुले विदाको समयमा कहीँ कतै घुम्न जानका लागि समेत यस्ता मोटरसाइकल खरिद गर्ने गरेका छन ।

आवश्यकता हुनेले भन्दा पनि जो स्पोर्टी मोटरसाइकल चलाउन रुचाउँछ उसले विदा मनाउन निस्कक्दा मोटरसाइकल लिएर निस्कने गरेको पाइन्छ । पछिल्लो समय नेपाली बजारमा ४/५ सय सीसी इन्जिन क्षमता भन्दा माथिका मोटरसाइल ब्रान्डहरु भित्रिने क्रम तिब्र रहेको छ ।

नेपालमा हाइ रेन्जका मोटरसाइकल विभिन्न कम्पनी जस्तै, होन्डा, सुजुकी, डुकाटी, रोयल इनफिल्ड, अप्रिलिया, एमभी अगष्टा लगायत ब्रान्डका उपलब्ध छन ।

नेपाली बजारमा भित्रिएका हेवी मोटरसाइल ब्रान्डहरुले पनि यस्ता मोटरसाइकल प्रयोगकर्ताहरुको संख्या बढ्दै गइरहेको बुझ्न गाह्रो पर्दैन ।

विश्वकै सर्वाधिक चर्चित प्रिमियम बाइक डुकाटी देखि होन्डा सीबीआर-६०० सम्मका मोटरसाइकल नेपाली उपभोक्ताको रोजाइमा पर्ने गरेका छन् ।

राम्रो सेडान कार आउने मूल्य पर्ने मोटरसाइकल समेत बजारमा उपलब्ध छन् । अनौठो नै मान्नु पर्छ यी बाइकहरु वार्षिक सयौंको संख्यामा नेपालमा बिक्री हुने गरेका छन् । नेपालमा महंगा प्रिमियम मोटरसाइकल कुदाउनेहरुको संख्या बढिरहेको छ ।

डुकाटी

नेपालमा उपलब्ध प्रिमियम मोटरसाइकल मध्ये इटालियन डुकाटी चर्चित छ । नेपालमा डुकाटीका ७ वटा मोडलका डेढ दर्जन भेरियन्ट उपलब्ध छन् । जसको मूल्य १६ लाख ५० हजार रुपैयाँदेखि ५० लाख रुपैयाँसम्म रहेको छ ।

डुकाटीको मल्टीस्ट्राडा मोडल ४ वटा भेरियन्टमा उपलब्ध छ । जसको मूल्य ३७ लाख रुपैयाँदेखि ४५ लाख रुपैयाँसम्म रहेको छ । यो १२०० सीसीको प्रिमियम बाइक हो । नेपालमा डुकाटीका ४ सय सीसीदेखि १३ सय सीसीसम्म इन्जिन क्षमताका मोटरसाइकल उपलब्ध छन् ।

एमभी अगष्टा

इटालियन ब्रान्डको एमभी अगष्टाको नेपालमा विभिन्न ५ मोडलमा उपलब्ध छ । एमभी अगष्टा एफ ३ मोडल ६७५ सीसी र ८०० सीसी इञ्जिन क्षमतामा उपलब्ध छ । ६ सय ७५ सीसीको एफ ३ को मूल्य २९ लाख ७५ हजार रुपैयाँ रहेको छ भने ८ सय सीसीको एफ ३ को मूल्य ३२ लाख रुपैयाँ रहेको छ ।

एमभी अगष्टा रिभाले पनि ८ सय सीसीको मोटरसाइकल हो । यसको मूल्य ३२ लाख ५० हजार रुपैयाँ रहेको छ । एमभी अगष्टाको नेपालमा उपलब्ध सबैभन्दा महंगो मोडल एफ ४ हो । यो हजार सीसी इञ्जिन क्षमताको यो मोटरसाइकलको मूल्य ४२ लाख रुपैयाँ रहेको छ ।

अप्रिलिया

इटालियन ब्रान्ड अप्रिलियाको डोर्सोड्युरो ७ सय ५० सीसीको हेभी बाइक हो । यसको मूल्य नेपालमा २४ लाख रुपैयाँ तोकिएको छ । झट्ट हेर्दा डट मोटरसाइकलजस्तो देखिए पनि यो स्पोर्टस् मोटरसाइकल भएको कम्पनीको भनाइ छ ।

होण्डा

चर्चित जापानीज ब्रान्ड होन्डाका २ वटा प्रिमियम बाइक नेपाली बजारमा उपलब्ध छन् । होन्डा सीबीआर ६०० आरआरको मूल्य २२ लाख रुपैयाँ रहेको छ भने सीबी ११०० मोडलको मूल्य २५ लाख रुपैयाँ रहेको छ ।

रोयल इनफिल्ड

रोयल इनफिल्डका ५ सय र ५ सय ३५ सीसी इन्जिन क्षमताका दुई मोटरसाइकल बजारमा उपलब्ध छन् । ७ लाख २१ हजार रुपैयाँसम्म पर्ने रोयल इनफिल्ड मोटरसाइलक दुगर्ड ब्रदर्स एन्ड सन्सले बिक्री गर्दै आएको छ ।

बेनिली

बेनिलीका दुईवटा महंगा मोटरसाइकल नेपालमा उपलब्ध छन् । नेपालमा उपलब्ध बेनिली ६०० आईको मूलय १५ लाख ५० हजार रुपैयाँ र बेनिली ६०० जीटीको मूल्य १६ लाख ५० हजार रुपैयाँ ताकिएको छ ।

त्यस्तै नेपाली बनारमा सुजुकी, हार्ले डेभिडसन, बीएमडब्लू, कावासोकी लगायत ब्रान्डका मोटरसाइल समेत उपलब्ध रहेका छन् ।


पुष्प दुलाल