पाँच दिनमा ३ करोड १५ लाख कित्ता बोनस सेयर थपियो



काठमाडौं । यो हप्ता नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा ३ करोड १५ लाख कित्ता बोनस सेयर थपिएका छन् । साताभरमा नेप्से ५ दिन मात्रै खुलेको थियो, सो अवधिमा विभिन्न ८ कम्पनीका बोनस सेयर सूचिकृत भएका हुन् ।

साताभरमा सबैभन्दजा बढी कृषि विकास बैंकको १ करोड १८ लाख कित्ता सेयर सूचिकृत भएको छ । दोस्रोमा ग्लोबल आइएमइ बैंकको ९८ लाख ६२ हजार कित्ता सेयर सुचिकृत भएको छ । सबैभन्दा कम माउन्ट मकालु डेभलपमेन्ट बैंकको ४१ हजार कित्ता सूचिकरण भएको हो ।

त्यसैगरी, डिप्रोक्स लघुवित्तको ९० लाख २७ हजार, सेञ्चुरी बैंकको ३६ लाख ८९ हजार, सगरमाथा फाइनान्सको २९ लाख ५४ हजार र इन्नोभेटिभ डेभलपमेन्ट बैंकको ६ लाख ३१ हजार कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत भएको हो ।

यो साता नेपाल स्टक एक्सचेन्जमा १ सय ६१ कम्पनीहरुको ४९ लाख ८ हजार ६० कित्ता सेयर २ अर्ब ९६ करोड २५ लाख २२ हजार रुपैयाँमा किनबेच भए । कारोबार रकम गत साताको भन्दा ११.५९ प्रतिशत कम हो ।

गत साता १ सय ५९ कम्पनीका ५९ लाख ४३ हजार १० कित्ता सेयर ३ अर्ब ३५ करोड सात लाख ११ हजार रुपैयाँमा किनबेच भएका थिए ।

यो साता नेप्से स्थिर रह्यो । नेप्से परिसूचक पहिलो दिनको तुलनामा ०.९० अंकले घटेर अन्तिम दिन १५८९.५९ अंकमा झरेको छ ।

कारोबार रकमका आधारमा यो साता स्ट्यान्डर्ड चार्टर्ड बैंक अग्र स्थानमा रह्यो । साताभरमा चाटर्ड बैंकको २३ करोड ७५ लाख १० हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

त्यसैगरी, कारोबार भएको सेयर संख्याका आधारमा भने सिद्दार्थ इक्वीटीको ओरिएन्टेड स्कीम २ लाख १५ हजार कित्ता कारोबार हुँदै अग्र स्थानमा रहेको छ त्यस्तै कारोबार संख्याका आधारमा पनि २८ हजार पटक कारोबार भई स्ट्याण्डर्ड चार्टर्ड बैंक नै अग्र स्थानमा छ ।


पुष्प दुलाल