एयरबसका जहाज किन्न राष्ट्र बैंकले दियो ७९ मिलियन डलर



काठमाडौं । दुई ठुला वाईडवडी जहाज खरिदको तयारीमा रहेको नेपाल वायुसेवा निगमलाई राष्ट्र बैंकले डलर सटही सुविधा दिएको छ ।

राष्ट्रबैंकले ७९ मिलियन डलर अर्थात् झन्डै ८ अर्ब रुपैयाँ बराबरको डलर सटही सुविधा निगमलाई दिएको हो । सटही सुविधा पाएसँगै निगमले शुक्रबारनै ८ अर्ब रुपैयाँ पहिलो किस्ता वापत रकम पठाउने भएको छ ।

निगमले दुई संस्था संचयकोष र नागरिक लगानी कोषसँग १२र१२ अर्व रुपैयाँ ऋण लिएसँगै दुई थान एयरबस ३३०–२०० सिरिजको जहाज खरिदको लागि स्रोत जुटाएको थियो ।

२ सय ८० सिट क्षमतका उक्त ठुला जहाज आगामी १४ महिना भित्रै निगमले पाउने छ । निगमले दक्षिण कोरिया, जापान, अष्ट्रेलिया लन्डन जस्ता गन्तव्यमा उडान गर्ने योजना बनाइरहेको छ ।

दुवै संस्थाबाट निगमले पहिलो किस्ता पठाउनको लागि ४र४ अर्व रुपैयाँ लिएको छ ।

‘राष्ट्रबैंकले बिहिबारनै निगमलाई डलर सटहीको स्विकृति दिएको हो,’ राष्ट्र बैंकका बैदेशिक मुद्रा विनिमय विभागका कार्याकारी दिर्नेशक भिष्म ढुंगनाले क्लिकमाण्डूसँग भने ।

निगमले अमेरिकन एएआर कर्पोरेशनलाई ८ अर्व रुपैयाँ १० दिन भित्र पठाउनुपर्ने भएतापनि ऋणसम्झौतामा ढिलाई भएको जानकारी कर्पोरेशनलाई निगमले गराएको थियो ।

निगमले शुक्रबार नै हाईफ्लाई एक्स एयरलाइन्सलाई रकमको ३५ प्रतिशत अर्थात् झन्डै ८ अर्व रुपैयाँँ शुक्रबार नै पठाउँदै छ । बाँकी रकम १४ अर्व ६३ करोड रुपैयाँ दोस्रो किस्ता बापत जहाज आउनु भन्दा केही अघि निगमले पठाउने छ ।

पहिलो किस्ताको रकम पठाएपछि जहाज दिने मिति निगमलाई उपलव्ध गराउने निगमका प्रवन्ध निर्देशक सुगतरत्न कंसाकारले जानकारी दिए ।

‘शुक्रबार नै निगमले एयरबसलाई पैसा पठाउँदै छौं,’ कंसाकारले भने ।

निगमले जहाज खरिदको लागि बैना रकम १० करोड ७० लाख रुपैयाँ माघ दोस्रो सातानै पठाइसकेको छ । निगमले आएरल्यान्डको ‘हाईफ्लाई एक्स एयरलाइन्स’ लाई बैना रकम पठाइसकेको छ ।

अमेरिकी कर्पोरेसनले ‘हाईफ्लाई एयरलाइन्स’ को लागि दुई वर्षअघि एयरबस कम्पनीमा अर्डर गरेको थियो । कर्पोरेशनले सोही जहाज निमगलाई दिनेगरी टेन्डर जितेको थियो ।

निगमलले दुई थान जहाज २० करोड ८० लाख १६ हजार डलर अर्थात २२ अर्व ६३ करोड रुपैयाँमा खरिद गर्दै छ । जसको लागि बैना रकमको १० लाख डलर पठाइसकेको छ ।

२ सय ८० सिट क्षमतका उक्त ठुला जहाज आगामी १४ महिना भित्रै निगमले पाउने छ । निगमले दक्षिण कोरिया, जापान, अष्ट्रेलिया लन्डन जस्ता गन्तव्यमा उडान गर्ने योजना बनाइरहेको छ ।


पुष्प दुलाल