नेटवर्क मार्केटिङ व्यवसायका नाममा ठगी गर्ने १४ जना पुलिसको फन्दामा



काठमाडौं । नेटवर्क मार्केटिङ व्यवसायका नाममा ठगी ठगी गर्ने १४ जनालाई प्रहरीले फक्राउ गरेको । लामो समयदेखि ‘क्यूनेट’ कम्पनीको नामबाट नेटवर्किङ व्यवसाय सञ्चालन गर्दै आएका १४ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

उनीहरुले अनलाइन तथा बिभिन्न माध्यमबाट सर्वसाधारणलाई क्यूनेटको सदस्य बनाउने भन्दै रकम लिई ठगी गर्दै आएका थिए ।

आइतबार साँझ काठमाडौंको बानेश्वरस्थित सिद्धार्थ फूडल्याण्डमा ‘क्यूनेट’को बन्द प्रशिक्षणका क्रममा प्रहरीले १०२ जनालाई नियन्त्रणमा लिएको थियो ।

प्रारम्भिक छानविनमा १४ जना सक्रिय अगुवा पाइएकाले उनीहरुलाई नियन्त्रणमा लिएर प्रहरीले ठगी मुद्दा दायर गरेको हो ।

प्रहरीले प्रकृति बुढाथोकी, श्वेता बस्नेत, सृजना सिंह, अंकिता श्रेष्ठ, विकल्प श्रेष्ठ, क्षितिज पौडेल, नरेश मल्ल, ओम गुरुङ, बिशन गुरुङ, किरण जोशी, सुमित मानन्धर, सौरभ गोयन्का, सुमित श्रेष्ठ र प्रमेश मानन्धरलाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार उनीहरुले आकर्षक योजनाको प्रलोभन देखाएर प्रतिव्यक्ति सदस्यताबापत न्युनतम ३ लाख ५० हजार रुपैयाँको दरले रकम उठाउँदै आएका थिए ।

नेपाल सरकारले सन् २००३ देखि नै नेटवर्किङ व्यवसायमा प्रतिबन्ध लगाएको छ । यसअघि नेपालमा अवैधरुपले चलाइएका गोल्ड क्वेस्ट, हर्बो, युनिटी लगायत नेटवर्किङ व्यवसायमा रोक लगाइएको छ ।

‘क्यू नेट’लाई ‘क्वेस्ट नेट’बाट पनि चिन्ने गरिन्छ । यो हङकङको क्यू आई ग्रुपबाट सन्चालित व्यवसाय हो ।


पुष्प दुलाल