पार्टीभित्रकै असहयोगले काँग्रेसको पराजयः प्रकाशमान सिंह



काठमाडौँ। नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले आफ्नो पार्टीभित्रकै असहयोगका कारण काठमाडौँ काँग्रेसले पराजय भोग्नुपरेको बताएका छन्।

नेपाली काँग्रेसका तर्फबाट काठमाडौँ महानगरपालिकाका  मतदातालाई धन्यवाद दिन आज राजधानीमा आयोजना गरिएको कार्यक्रममा नेता सिंहले आमजनताको ठूलो समर्थन रहेपनि पार्टीभित्रैबाट अन्तर्घात हुनु दुःखद भएको बताए।

‘काठमाडौँ काँग्रेसले निर्वाचन हार्नुको कारण खोज्नुपर्ने समय आएको छ,’ उनले भने ।

उनले २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा आठवटा निर्वाचन क्षेत्र जितेको काँग्रेसले अहिले किन हार्यो भन्नेबारे सबै नेता तथा कार्यकर्ताले सोच्नुपर्ने बेला आएको बताए।

सिंहले नेपाली काँग्रेसको नेतृत्वमा संविधान जारी भएको र त्यसको कार्यान्वयनको जिम्मा पनि अहिले काँग्रेसकै काँधमा आएको चर्चा गर्दै त्यसका लागि सबै पक्षलाई समेटेर अगाडि बढ्नुपर्ने बताए।

केन्द्रीय सदस्य नवीन्द्रराज जोशीले काँग्रेसको पक्षमा जनमत हुँदाहुँदै पनि काँग्रेसले हार व्यहोरेको भन्दै यसको समीक्षा गर्नुपर्ने बेला आएको बताए। ‘नगर उपप्रमुखले निर्वाचन जित्दै गर्दा नगर प्रमुख ठूलो अन्तरले के कारणले पराजित भयो यसलाई गम्भीर भएर समीक्षा गर्नुपर्दछ,’ उनले भने।

 


क्लिकमान्डु