यो वर्ष ४ सय ४५ जना सगरमाथाको चुचुरोमा
काठमाडौं । यो वर्षको सिजनमा ४ सय ४५ आरोहीले सगरमाथा आरोहण गरेका छन् । ७ सय भन्दा बढीले आरोहण गर्ने अनुमान गरिए पनि मौसमले साथ नदिदाँ ४ सय ४५ जनाले मात्रै सगरमाथाको सफल आरोहण गरेका हुन् ।
यो वर्ष सगरमाथा चढ्नेहरुको संख्या गत वर्षको भन्दा कम हो । सन् २०१६ को यो सिजनमा ४ सय ५१ जना सगरमाथा चढेका थिए ।
यो वर्षको सिजनमा सगरमाथा चढ्नेहरुको संख्यासमेत जोड्दा हालसम्म ५ हजार ३ सय २४ जना आरोहीहरु सगरमाथा चढेको पर्यटन विभागले जनाएको छ ।
चालु सिजनमा नेपाली र विदेशी गरेर ७ सय भन्दा बढी सगरमाथा आरोहणको लागि त्यसतर्फ लागेका थिए । सगरमाथा आरोहणको मुख्य सिजनमा जेठको १५ गतेसम्म मात्र रहेको थियो ।
दुई वर्षअघि अनुमति लिएका तर भूकम्पले हिऊँ पहिरोका कारण आरोहण रोकिएकोले यसवर्ष उक्त अनुमति लिनेहरु पनि आरोहणमा आएका थिए ।
यसवर्ष मौसम बढीनै फेरवदल हुदाँ सगरमाथा अरोहणमा सोचेजस्तो सफलता नपाएको नेपाल पर्वतारोहण संघका अध्यक्ष आङछिरिङ शेर्पाले बताए ।
सन् २०१४ र २०१५ मा दुर्घटनापछि आरोहण प्रभावित भएको थियो । ती दुई वर्ष आरोहण अनुमति लिएर पनि हिमाल चढ्न नपाएका आरोहीका लागि सरकारले आरोहण अनुमति सन् २०१७ भरको लागि दिएको छ । उक्त समयमा अनुमती लिनेहरु पनि यसवर्ष आरोहणका लागि आएका थिए ।
यसवर्ष अनुमति वापत सरकारले २० करोड रुपैयाँ हाराहारी राजस्व संकलन गरेको छ । प्रत्येक आरोहणमा जाने आरोहीले ११ हजार डलर दस्तुरमार्फत् सरकारलाई राजस्व बुझाउने गरेका छन् ।
चालु सिजनमा २५ हिमाल आरोहण गर्न ९१ समूहका ७ सय ३७ जनाले आरोहण अनुमती लिएका छन । जसमा सगरमाथाको लागि मात्रै ४२ समूहका ३ सय ७३ जनाले आरोहण गर्न अनुमति लिएका छन ।
गत वर्ष भने ९८ समूहका ७ सय ४५ जनाले आरोहणका लागि अनुमति लिएका थिए ।
कुन वर्ष कति चढे ?
वर्ष आरोहीको संख्या
सन् २०१७ ४४५
सन् २०१६ ४५१
सन् २०१५ ०
सन् २०१४ ०
सन् २०१३ ५७८
सन् २०१२ ३९३
सन् २०११ २७८
सन् २०१० ४४६