एनसेलले मोबाइल बीमा ल्याउँदैः मासिक ७ रुपैयाँ तिर्दा २१ हजारसम्मको सुबिधा



काठमाडौं । मोबाइल सेवा प्रदायक कम्पनी एनसेल र सगरमाथा इन्स्योरेन्स कम्पनीले संयुक्त रुपमा मोबाइल बीमा योजना ल्याउने भएका छन् ।

मोवाइले सेवा प्रदायक एनसेल र बीमा सेवा प्रदायक सगरमाथाले संयुक्त रुपमा यस्तो सेवा संचालनको लागि सम्बन्धित नियामक निकायसँग अनुमति मागेका हुन् ।

निजी क्षेत्रको मोवाइल सेवा प्रदायक कम्पनी एनसेलले नेपाली बीमा बजारमा  सगरमाथा इन्स्योरेन्ससँग मिलेर पहिलो पटक नयाँ किसिमको बीमा योजना ल्याउन लागेको हो । यस्तो सेवा एनसेल मोवाइल प्रयोगकर्ताले पाउने छन् ।

दुबै कम्पनीले संयुक्तरुपमा मोबाइल ग्राहकहरु बिरामी भएर अस्पताल बस्दा लाग्ने बेड शुल्क भुक्तानी गर्ने ‘हस्पीटल नगद योजना’ ल्याउने भएका हुन् ।

एनसेलले यसको लागि दुरसंचार क्षेत्रको नियामक निकाय नेपाल दूरसंचार प्राधिकरणसँग अनुमति मागेको छ । प्राधिकरणले एनसेललाई यस्तो सेवा संचालन गर्न दिनु हुने नहुने बिषयमा बीमा क्षेत्रको नियामक निकाय बीमा समितिसँग राय मागेको प्राधिकरण स्रोतले जानकारी दियो ।

‘एनसेलले मोबाइल इन्स्योरेन्सको लागि केही समय अगाडि नै अनुमति मागेको छ, हामी यसबारेमा अध्ययन गर्दैछौं,’ प्राधिकरण स्रोतले क्लिकमाण्डुसँग भन्यो ।

एनसेलले प्राधिकरणसँग मोबाइल सेवाको रिचार्जबाट कट्टा हुने गरी बीमा सेवाको प्रिमियम भुक्तानी गर्न ‘नो अब्जेक्सन’ प्रदान गर्न निवेदन दिएको प्राधिकरणले जानकारी दिएको छ । एनसेलले बीमा कम्पनीको रुपमा सगरमाथा इन्स्योरेन्स कम्पनी तथा विशेषज्ञ कम्पनीको रुपमा मिलभिक एबीसँग सहकार्य गर्न लागेको हो । तर, यो विषयमा प्राधिकरणले अझै ठोस निर्णय गर्न सकेको छैन ।

‘हामीले यसको लागि सम्बन्धित निकायहरुसँग राय माग गरिरहेका छौं, सबैको राय आएपछि नो अब्जेक्सन लेटर दिनेछौं,’ प्राधिकरण स्रोतले भन्यो ।

एनसेलसँग मिलेर हस्पिटल क्यास इन्स्योरेन्स सेवा संचालन गर्नको लागि सगरमाथा इन्स्योरेन्स कम्पनीले बीमा क्षेत्रको नियामक समितिबाट अनुमति लिइसकेको छ । समितिले हस्पिटल क्यास इन्स्योरेन्सको पोलिसी तयार पारेर स्वीकृत समेत गरिसकेको समितिका कार्यकारी निर्देशक श्रीमान कार्कीले जानकारी दिए ।

को हो मिलभिक एबी ?
ब्लूमबर्गले एस एण्ड पी ग्लोबल मार्केट इन्टेलिजेन्सको आधारमा तयार पारेको जानकारीअनुसार मिलभिक एबीले बीमाको रुपमा व्यवसाय गरिरहेको छ । यसले माइक्रो लाइफ इस्योरेन्स प्रडक्टहरु मोबाइल अपरेटरहरुका लागि दिँदै आएको छ ।

सन् २०१० मा स्थापना भएको मिलभिक एबी स्विडेनको स्टकहोममा रहेको छ, जसले हाल अफ्रिकाका मोबाइल सेवाग्राहीहरुलाई बीमा सेवा प्रदान गर्न सहयोग गरिरहेको छ ।

किन्नेभिक न्यू भेन्चर्स एबीको सहायक कम्पनीको रुपमा यो कम्पनीले कार्य गरिरहेको छ, जसले प्राग र होण्डुरसमा पनि गतिबिधि संचालन गरिरहेको छ ।

यसको प्रमुख कार्यकारी अधिकृतमा गुस्ताफ अगार्सन छन् । यसमा आजिआटा ग्रुपको आजिआटा डिजिटलले पनि १६.८ मिलियन अमेरिकी डलर लगानी गरेको छ ।

यसले सार्क मुलुकहरु भारत र श्रीलंकामा बीमा कम्पनीको नाममा काम गरिरहेको छ भने बंगलादेश, पाकिस्तानमा मिलभिकको नाममा नै व्यवसाय गरिरहेको छ ।

कहाँ पुग्यो प्रक्रिया ?
दूरसंचार प्राधिकरणले यसको बारेमा निर्णय नगरिसकेको भएपनि बीमा क्षेत्रको नियामक निकाय बीमा समितिले सगरमाथा इन्स्योरेन्सलाई मासिकरुपमा नविकरण गर्नेगरी ‘हस्पिटल नगद बीमा’ योजनाको अनुमति दिएको छ ।

सो योजना अनुमतिअनुसार बीमा कम्पनीले न्यूनतम १६ वर्षदेखि ६४ वर्ष उमेरसम्मका मोबाइल प्रयोगकर्तालाई हस्पिटल नगद बीमा सेवा दिन सक्ने छ । अर्थात बीमा योजनामा सहभागी भएको कुनैपनि मोबाइल सेवाग्राही बिरामी भएर अस्पतालमा बस्नुपर्यो भने उसले अस्पतालमा प्रतिरातको बेड शुल्क बीमाको रुपमा दाबी गर्न पाउनेछ ।

कस्तो छ यो योजना ?
सगरमाथा इन्स्योरेन्सले समितिबाट पाएको अनुमति अनुसार कम्पनीले पाँच किसिमको योजना (अप्सन) हरु ल्याउन लागेको छ । यो योजनामा २ रातभन्दा बढी अस्पताल भर्ना भएमा एक रातको बेडशुल्क ७०० रुपैयाँदेखि ७ हजार रुपैयाँसम्म बीमा दाबी गर्न पाइनेछ ।

अप्सन १ मा बिमित मोबाइल सेवाग्राहीले प्रतिरात ७०० रुपैयाँ पर्ने अस्पतालको बेडमा बसेर बर्षको २१ हजार रुपैयाँसम्म दाबी लिन सक्नेछन् । जसको लागि ग्राहकको मोबाइल चार्जबाट प्रतिमहिना न्यूनतम ७ रुपैयाँदेखि २१ रुपैयाँसम्म प्रिमियम काटिनेछ । यो अप्सनमा ग्राहकले प्रतिरात न्यूनतम २३३ रुपैयाँदेखि प्रतिरात अधिकतम ७०० रुपैयाँसम्मको बीमा दाबी गरेर लिन सक्नेछन् । तर यस्तो बीमा दाबी रकम वार्षिक रुपमा २१ हजार रुपैयाँभन्दा बढि हुनेछैन ।

त्यस्तै अप्सन २ मा ग्राहकहरुलाई १ हजार ४०० रुपैयाँ प्रतिरातको दरले अस्पतालको बेडको भुक्तानी दिने बीमा योजनामा छ । जसको लागि मोबाइल ग्राहकले मासिकरुपमा न्यूनतम १४ रुपैयाँदेखि अधिकतम ४२ रुपैयाँसम्म प्रिमियम तिर्नुपर्ने हुन्छ । यो अप्सनमा ग्राहकहरुले अस्पतालको बेडको शुल्क न्यूनतम ४६७ रुपैयाँ प्रतिरातदेखि अधिकतम १ हजार ४०० रुपैयाँ प्रतिरातसम्मको दाबी गर्न पाउनेछन् । तर यस्तो बीमा दाबी रकम वार्षिकरुपमा अधिकतम ४२ हजार रुपैयाँसम्म मात्र हुनेछ ।

हस्पिटल नगद बीमा अन्तर्गतको अप्सन ३ मा भने २ हजार १०० रुपैयाँ प्रतिरात बीमा रकम ग्राहकले प्राप्त गर्न सक्नेछ । जसको लागि ग्राहकले आफ्नो मोबाइलबाट प्रतिमहिना न्यूनतम २१ रुपैयाँदेखि अधिकतम ६३ रुपैयाँसम्म प्रिमियम तिर्नुपर्ने हुन्छ । यसमा ग्राहकहरुले न्यूनतम ७०० रुपैयाँ प्रतिरातदेखि अधिकतम २ हजार १०० रुपैयाँ प्रतिरातसम्म बीमा रकम दाबी गर्न सक्नेछन् । तर यस्तो दाबी रकम वार्षिकरुपमा अधिकतम ६३ हजार रुपैयाँसम्म मात्र हुनेछ ।

अप्सन ४ अन्तर्गत ग्राहकहरुले ३ हजार ५०० रुपैयाँ प्रतिरातको बीमा योजनामा सहभागी हुनसक्नेछन् । यस्तो योजनामा सहभागी हुने मोबाइल सेवाग्राहीहरुले न्यूनतम ३५ रुपैयाँदेखि अधिकतम १०५ रुपैयाँ मासिकरुपमा प्रिमियम तिर्नुपर्ने हुन्छ । यो योजनामा ग्राहकहरुले न्यूनतम १ हजार १६७ रुपैयाँ प्रतिरातदेखि अधिकतम ३ हजार ५०० रुपैयाँ प्रतिरातसम्मको बीमा दाबी गर्न सक्नेछन् । यो योजनामा ग्राहकले वार्षिकरुपमा १ लाख ५ हजार रुपैयाँसम्म मात्र बीमा रकम दाबी गर्न सक्नेछ ।

अन्तिम अर्थात अप्सन ५ मा ग्राहकहरुले प्रतिरात ७ हजार रुपैयाँको बीमा दाबी गर्न सक्नेछन् । यो योजनामा ग्राहकहरुले प्रतिमहिना न्यूनतम ७० रुपैयाँदेखि अधिकतम २१० रुपैयाँ प्रिमियम तिर्नुपर्ने हुन्छ । योजनामा ग्राहकहरुले प्रतिरात न्यूनतम २ हजार ३३३ रुपैयाँदेखि अधिकतम ७ हजार रुपैयाँ प्रतिरातसम्मको बीमा शुल्क दाबी गर्न सक्नेछन् । तर, यस्तो बीमा दाबी रकम वार्षिकरुपमा २ लाख १० हजार रुपैयाँ भन्दा बढि हुनेछैन ।

एनसेल र सगरमाथा इन्स्योरेन्सले ल्याउन लागेको यो बीमा योजनामा सगरमाथा इन्स्योरेन्सले बीमा कम्पनीको भूमिका निभाउनेछ भने एनसेलले मास्टर पोलिसी अपरेटरको रुपमा आफ्ना ग्राहकहरुलाई बीमा सेवा प्रदान गर्नेछ ।

बीमाको प्रकृया
यस्तो बीमा योजना एनसेलले एसएमएसमार्फत गराउनेछ भने मासिक प्रिमियम शुल्क मोबाइल रिचार्ज गर्दा नै काटिनेछ । यसमा बिमित ग्राहक बिरामी भएर कुनैपनि अस्पतालमा भर्ना भएको र डिस्चार्ज भएको प्रमाण पेश गरेर बीमा कम्पनीबाट दाबी भुक्तानी लिन सक्नेछन् ।

यसको बीमा दाबीका लागि लागि ग्राहकले अस्पतालमा बसेको प्रमाणहरु पेसगर्नुपर्ने हुन्छ । जसमा बीमितको उमेर प्रमाणित हुने कागतपत्र, अस्पतालको अन्तिम इन्भ्वाइस (रकम तिरेको बील), डिस्चार्ज रिपोर्टलगायतका आवश्यक कागतपत्र अस्पतालबाट डिस्चार्ज भएको ९० दिनभित्र पेश गर्नुपर्ने हुन्छ ।

यो बीमा योजनामा कुनैपनि ग्राहकले अस्पतालको बेडमा दुई रातभन्दा कम बसेमा त्यसको बीमा दाबी गर्न पाउने छैन ।

बीमा विज्ञ भोजराज शर्माले यस्तो किसिमको बीमा योजना नेपालमा पहिलो भएपनि अन्य मुलुकहरुमा निकै प्रचलनमा रहेको जानकारी दिए ।

‘मोबाइलबाट नै बीमा गर्न सकिने योजना बंगलादेश, पाकिस्तानलगायत सार्क मुलुक तथा अफ्रिकी देशहरुमा पनि छ, यसबाट मोबाइल ग्राहकहरुले सजिलै बीमा गर्न सक्दछन्,’ उनले भने ।

शर्माका अनुसार यस्तो बीमा योजना गाउँ गाउँसम्म सजिलै पुर्याउन सकिने र नागरिकहरुका लागि लाभदायक हुन्छ ।

एनसेलले भने दूरसंचार प्राधिकरणले नो अब्जेक्सन दिएपछि मात्र यस्तो बीमा योजना संचालन गर्न पाउँछ ।


क्लिकमान्डु