अबको १५ बर्ष पछि पेट्रोल र ग्यासमा ५०० प्रतिशतले बढी पैसा उडाउदै छन् नेपाली




काठमाडौं । नेपालीले अबको १५ बर्षपछि पेट्रोल र ग्यासमा खर्च गर्ने रकम ५०० प्रतिशतले बढ्ने देखिएको छ । नेपाल आयाल निगमले गरेको अध्ययनले यस्तो देखाएको हो ।

आर्थिक बर्ष २०७३/७४ को तुलनामा यसको १५ बर्षपछि अर्थात आर्थिक बर्ष २०८६/८७ मा ५ गुणा (५०० प्रतिशत) ले बढ्ने देखिएको निगमका नायब कार्यकारी निर्देशक सुशील भट्टराईले जानकारी दिए ।

निगमले गरेको अध्ययन प्रतिबेदन अनुसार चालु आर्थिक बर्षमा ३ लाख २४ हजार ८ सय किलोलिटर पेट्रोलको बार्षिक माग छ । आर्थिक बर्ष २०८६/८७ मा यो माग बढेर १५ लाख ८७ हजार ३३४ किलोलिटर हुनेछ ।

यस्तै चालु आर्थिक बर्षमा ग्यासको बार्षिक माग २ लाख ९३ हजार ८ सय मेट्रिक टन बार्षिक माग छ । आर्थिक बर्ष २०८६/८७ मा यस्तो माग बढेर १६ लाख २६ हजार ११० मेट्रिक टन पुग्ने अध्ययनले देखाएको छ ।

१५ बर्षको अबधिमा डिजेलको माग पनि ५ गुणाले नै बढ्ने पाइएको छ । चालु आर्थिक बर्षमा १० लाख २ हजार ८ सय किलोलिटर डिजेलको बार्षिक माग रहेकोमा आर्थिक बर्ष २०८६/८७ मा यस्तो माग बढेर बार्षिक माग ३३ लाख ५१ हजार ८४ किलोलिटर पुग्नेछ ।

हवाइ इन्धनको बार्षिक माग पनि ५ गुणाले नै बढ्ने अध्ययनको निष्कर्ष छ । चालु आर्थिक बर्षमा १ लाख ५६ हजार ५१० किलोलिटर बार्षिक माग गरेको हवाइ इन्धनको बार्षिक माग अबको १५ बर्षपछि ६ लाख ७४ हजार ६२७ किलोलिटर हुनेछ ।

अर्काे प्रमुख पेट्रोलियम पदार्थ मट्टितेलको माग भने अन्य पदार्थको अनुपातमा बढ्ने अध्ययनले देखाएन । अध्ययनका अनुसार चालु आर्थिक बर्षमा बार्षिक २० हजार ३३० किलोलिटर माग रहेको मट्टितेल अबको १५ बर्षपछि बार्षिक माग ५२ हजार ४२२ किलोलिटर मात्रै हुनेछ ।

अध्ययनले अबको १५ बर्षसम्ममा नेपालमा कति परिमाणमा पेट्रोलियम पदार्थको माग हुनेछ भन्ने पनि देखाएको छ ।

अबको १५ बर्षमा नेपालमा १ करोड २१ लाख ८ हजार ४५२ किलोलिटर पेट्रोलको माग हुनेछ भने डिजेलको माग २ करोड ९४ लाख ४३ हजार १२८ किलोलिटर हुनेछ ।

यस्तै १५ बर्षमा मट्टितेलको माग ५ लाख १० हजार ८७४ किलोलिटर र हवाइ इन्धनको ५३ लाख ८४ हजार ७८३ किलोलिटर हुनेछ । १५ बर्षको लागि नेपालीले १ करोड १८ लाख ७४ हजार ६४० मेट्रिक टन ग्यास चाहियो भन्नेछन् ।


क्लिकमान्डु