केपी ओलीले भने- भरतपुरमा देवी ज्ञवालीलाई चुनाब जितेको घोषणा गर्नुपर्छ



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भरतपुर महानगरपालिकाका एमालेका मेयरका उम्मेद्वार देवी ज्ञवालीलाई चुनाब जितेको घोषणा गर्नुपर्ने बताएका छन् ।

माओवादीले मतपत्र च्यातेको भन्दै सरकारले नै मुद्दा दायर गरिसकेको अवस्थामा एमालेका उम्मेद्वारलाई बिजयी घोषणा गर्नुपर्ने ओलीले बताए ।

‘मतपत्र च्यात्नु भनेको हार स्वीकार गर्नु हो,’ संसदमा सम्बोधन गर्दै ओलीले भने,- ‘त्यसैले ज्ञवालीलाई चुनाब जितेको घोषणा गर्नुको साटो सरकार विभिन्न जालझेल गर्नतिर उद्यत भएको छ ।’

ओलीले भारत र श्रीलंकाबीच भएको क्रिकेट खेल सुनाउँदै भरतपुर निर्वाचनको परिणाम पनि सोही अनुरुप गर्नुपर्ने सुझाब दिए ।

‘भारतको घरेलु मैदानमा भएको खेलमा उसले १५२ रन बनाएको र श्रीलंकाले ५२ रन बनाएपछि घरेलु दर्शकले हुलदंगा गर्दै खेल रोक्यो र त्यहाँ श्रीलंकालाई विजेता घोषणा गरिएको थियो,’ उनले भने ।

ओलीले सत्तापक्ष चुनाव हार्न तयार नभएको आरोप लगाएका छन् । भरतपुर महानगरको वडा नम्बर १९ मा नियोजितरुमा केही मतपत्र च्यातिए र त्यसैका आधारमा फेरि मतदानमा गर्ने निर्णय हुनु आश्चर्यजनक भएको भन्दै ओलीले सरकार पक्षले लोकतन्त्र र निर्वाचनको उपहास गरेको आरोप लगाए ।

‘चुनावमा हारजित हुन्छ । केही ठाउँमा त हारजित स्वीकार्यौ भन्नुहुन्छ उहाँहरु । तर, सत्तापक्ष केहीकेही ठाउँमा हार्न तयार भएको छैन,’ ओलीले भने- ‘ककसलाई चुनाब हराउन न पाइने हो भनेर प्रतिपक्षलाई थाहा दिए माइन्ड मेकअप गर्न पाइन्थ्यो ।’

भरतपुरमा मतपत्र च्यात्नेलाई तत्काल प्रहरीले नियन्त्रणमा लिँदा पनि मूख्य निर्वाचन अधिकृतले मतगणनास्थल ‘कब्जा’ भएको भनेर
प्रतिवेदन बुझाउनु षड्यन्त्रपूर्ण भएको ओलीले आरोप लगाए ।

‘निर्वाचन अधिकृतले मतगणनास्थल रणभूमितुल्य भएको र मतगणना सहज रुपमा गर्न नसक्ने अवस्था भएको रिपोर्ट पठायो,’ उनले भने,– ‘निर्वाचन आयोगले त्यस गोलमटोल रिपोर्टलाई विश्वास गरेन र अनुगमन टोली पठायो ।’

ओलीले संसदमा डेढ घन्टा सम्बोधन गरेका थिए । जसमा करिब ४० मिनेट भरतपुर काण्डका विषयमा बोलेका थिए ।


पुष्प दुलाल