अख्तियारले समातेका चुडामणि शर्मा बीर अस्पताल भर्ना



काठमाडौं । राजस्व हिनामिना गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरि हिरासतमा लिएका आन्तरिक राजस्व विभागका महानिर्देशक चुडामणि शर्मा अस्पताल भर्ना भएका छन् ।

स्वास्थ्यमा खराबी आएको भन्दै शर्मा सोमबार दिउसो बीर अस्पतालको आकस्मिक कक्षमा भर्ना भएका छन् ।

अख्तियारबाट नियमित स्वास्थ्य जाँचका लागि अस्पताल लगिएको अख्यिारका प्रवक्ता जीबराज कोइरालाले जानकारी दिए ।

‘नियमित स्वास्थ्य जाँचका लागि शर्मालाई ३ बजेतिर अस्पताल लगिएको थियो, उहाँलाई हाम्रो टोलीले साँझ ५ बजेसम्म फिर्ता ल्याएको छैन,’ प्रवक्ता कोइरालाले क्लिकमाण्डूसँग भने ।

अख्तियारले शर्मालाई शुक्रबार पक्राउ गरेको थियो । अख्तियारले आइबार विशेष अदालतमा लगेर शर्मालाई हिरासतमै राखेर थप अनुसन्धानका लागि म्याद लिएको थियो ।

बीर अस्पतालका प्रवन्ध निर्देशक भूपेन्द्र बस्नेतले पनि शर्मालाई अस्पताल भर्ना गरिएको जानकारी दिए ।

‘शमा दिउँसो ३ बजेतिर बीर अस्पताल भर्ना हुनुभएको छ, उहाँको चेकअप भइरहेको छ, रिपोर्ट आइनसकेकाले स्वास्थ्य अवसथा गंभीर हो कि सामान्य हो भनेर अहिले नै भन्न सकिँदैन,’ बस्नेतले क्लिकमाण्डूसँग भने ।


पुष्प दुलाल