सिद्धार्थ बैंक छाडेर कुमारी बैंकको सीइओ बने सुरेन्द्र भण्डारी



काठमाडौं । कुमारी बैंकको प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा सुरेन्द्र भण्डारी नियुक्त भएका छन् । भण्डारी कुमारी बैंकका संस्थापक सीइओसमेत हुन् ।

बैंकको सोमबार बिहान बसेको सञ्चालक समितिको बैठकले भण्डारीलाई आगामी ४ वर्षे कार्यकालका लागि सीइओमा नियुक्त गरेको हो ।

भण्डारी सिद्धार्थ बैंकको प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत थिए । उनको कार्यकाल अझै ३ वर्ष बाँकी थियो । तर, कार्यकाल बाँकी रहँदारहँदै पनि भण्डारी सिद्धार्थ छाडेर कुमारी बैंकको व्यवस्थापन सम्हाल्न पुगेका छन् ।

भण्डारीले नबिल बैंकबाट बैंकिङ करियर सुरु गरेका थिए । उनी नबिलको महाप्रबन्धकसमेत भएका थिए ।

सिद्धार्थमा भण्डारीले २ कार्यकाल पुरा गरिसकेका छन् । करिब महिना दिनअघि संसदबाट पारित बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन (बाफिया)मा एउटा सीइओ एउटै संस्थामा २ कार्यकालभन्दा बढी बस्न नपाउने व्यवस्था गरेको थियो ।

बाफिया पारित भएपछि मात्रै कार्यकाल गणना हुनुपर्ने भएपनि अदालतले भूतदर्शी व्याख्या गरेपछि कैलाश विकास बैंकका अध्यक्ष र सीइओले जागिर गुमाइसकेका छन् भने यस्तै मुद्दामा एनएलजी इन्स्योरेन्सका सीइओ बिजय शाहले पनि जागिर गुमाइसकेका छन् ।

कुमारी बैंकले काष्ठमण्डप डेभलपमेन्ट बैंक, महाकाली विकास बैंक, काँक्रेबिहार विकास बैंक र पश्चिमाञ्चल फाइनान्सलाई एक्वायर गर्दै छ।
यसअघिका सीइओ उदय उपाध्याय प्रहरीको फन्दामा परेपछि कुमारी बैंकमा सीइओ खाली थियो । बैंक सञ्चालक समितिले बैंककै सिनियर कर्मचारी राजिब गिरीलाई निमित्त सीइओको जिम्मेवारी दिएको थियो ।


पुष्प दुलाल