नेपाली पुँजी बजारमा विदेशीलाई लगानी गर्ने बाटो खुल्यो




काठमाडौं । नेपालको पुँजी बजारमा बिदेशीले पनि लगानी गर्न पाउने भएका छन् । गत शुक्रबार मन्त्रिपरिषदले पारित गरेको बिदेशी लगानी सम्बन्धि कानुनलाई संसोधन र एकिकरण गर्न बनेको बिधयेकमा नेपालको पुँजी बजारमा बिदेशीले पनि लगानी गर्न पाउने ब्यवस्था राखिएको छ ।

नेपाली उद्योगमा बिदेशीले लगानी गर्न पाउने तर तिनै उद्योगले जारी गरेको सेयरमा लगानी गर्न नपाउने कानुनी ब्यवस्थाले असहज भएको गुनासो लगानीकर्ताबाट आएपछि नयाँ ब्यवस्था गरिएको उद्योग मन्त्रालयका सहसचिब प्रदीप कोइरालाले जानकारी दिए ।

‘अहिलेसम्म बिदेशीले नेपाली उद्योगमा मात्रै लगानी गर्न पाउने ब्यवस्था थियो, तर तिनै उद्योगको सेयरमा लगानी गर्न पाइदैनथ्यो, अब उद्योगमा पनि लगानी गर्न दिने र उद्योगले कम्पनी बनेर जारी गरेको सेयर पनि किन्न पाउने ब्यवस्था नयाँ ऐनमा गरिएको छ,’ कोइरालाले क्लिकमाण्डूसँग भने ।

तर यस्तो ब्यवस्था भने ऐन कार्यान्वयनमा आउने वित्तिकैदेखि लागू भने हुने छैन । यसको लागि ऐनमा अर्काे ब्यवस्था छ ।

‘सैद्धान्तिक रुपमा ऐनले नेपाली सेयर बजारमा बिदेशीलाई लगानी खुल्ला गर्ने ब्यवस्था गरेको हो, तर, अहिले नै पूर्णरुपमा खुल्ला भने गरेको छैन, नेपाल सरकारले उपयुक्त देखेको समयमा राजपत्रमा सुचना प्रकाशित गरेर खुल्ला गर्ने भनिएको छ, यसको मतलब सरकारले आवश्यक ठानेको समयपछि यो ब्यवस्था कार्यान्वयनमा आउँछ भन्ने हो,’ सहसचिब कोइरालाले भने ।

बिदेशी लगानीकर्तालाई प्रोत्साहन गर्ने ब्यवस्था नयाँ ऐनमा राखिएको छ । नयाँ ऐनमा सहजै भिषा दिने र परिचयपत्र प्रदान गरिने ब्यवस्था पनि छ । यस्तै लगानी गर्न पाउने अधिकतम सीमा पनि नतोकिने भएको छ ।

तर, बिदेशी लगानीकर्ताले नेपालमा गर्न न्यूनतम लगानीको सीमा भने तोकिने भएको छ । सरकारले नियमावली बनाएर न्यूनतम सीमा तोक्ने ब्यवस्था नयाँ ऐनमा रहेको कोइरालाले जानकारी दिए ।

‘नेपालमा बढीभन्दा बढी विदेशी लगानी सहजै आओस् भन्ने हाम्रो मनसाय हो, तर, लगानीसँगै बिकृति आउँछ कि भनेर हामी सजग हुनैपर्छ,’ कोइरालाले भने ।


क्लिकमान्डु