गगन थापाले भने- नयाँ सरकारमा पनि स्वास्थ्यमन्त्री भएर काम गर्ने इच्छा छ



काठमाडौं । स्वास्थ्यमन्त्री गगन थापाले नयाँ सरकारमा पनि स्वास्थमन्त्री भएर काम गर्ने इच्छा व्यक्त गरेका छन् ।

आइतबार स्वास्थ्य मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री थापाले यस्तो इच्छा व्यक्त गरे ।

नयाँ सरकारको प्रधानमन्त्री बन्न आफ्नै पार्टीका सभापति शेरबहादर देउवाले संसदमा उम्मेद्वारी दर्ता गराइसकेको अवस्थामा मन्त्री थापाले कार्यकाल दोहोर्याउने इच्छा व्यक्त गरेका हुन् ।

‘मलाई व्यक्तिगतरुपमा सोध्नुहुन्छ भने पक्कै पनि कार्यकाल दोहोर्याउने इच्छा छ, बाँकी रहेका कामहरु आगामी ५/६ महिनामा धेरै गर्न सकिन्थ्यो भन्ने लागेको छ,’ मन्त्री थापाले भने ।

मन्त्रीले कार्यकाल दोहोर्याउने इच्छा रहेको बताइरहँदा बीचैमा राज्यमन्त्री तारामान गुरुङले थापा नै फेरि पनि स्वास्थ्य मन्त्री हुने बताए ।

तर, मन्त्री थापाले भने राजनीतिक दलका आफ्ना बाध्यताहरु हुने र गठबन्धन सरकारमा प्रधानमन्त्रीका सीमाहरुलाई बुझेर आफूले सम्मान गर्ने बताए ।

स्वास्थ्मन्त्री भएर साढे ९ महिना काम गरेपछि आफूलाई स्वास्थ्य क्षेत्रको प्यासन भएकाले सांसदभित्र र नागरिकका हिसाबले आफू यो क्षेत्रको विकासमा निरन्तर लागिरहने थापाले प्रतिवद्धता व्यक्त गरे ।


पुष्प दुलाल