शेयर बजारमा राजनीतिको असर, साताको पहिलो दिन नै १० अंक घट्यो



काठमाडौं । साताको पहिलो दिन नेप्से परिसूचकमा दोहोरो अंकको कमी आएको छ । राष्ट्रिय राजनीतिमा दलहरुबिच सहमति नहुँदाको परिणाम आज शेयर बजारमा देखिएको छ । आज मध्यान्हसम्म पनि नयाँ सरकार गठनको प्रकृया शुरु नहुँदा र दलहरुबिच छलफल समेत हुन नसक्दा त्यसको असर शेयर बजारमा देखियो ।

आज आइतवार नेप्से परिसूचक १०.५ अंकले कमी हुँदै १,५९३.८१ बिन्दूमा रहन पुग्यो । नेप्से परिसूचक घट्दा आज अधिकांश समूहगत परिसूचकहरु घट्न पुगे ।

आज क वर्गका कम्पनीहरुको सेन्सेटिभ परिसूचक पनि २.२७ ले घट्न पुग्यो भने फ्लोट इन्डेक्समा पनि कमी आएको छ ।

समूहगत परिसूचक तर्फ बीमा कम्पनीको परिसूचक सबैभन्दा उच्च बिन्दुले घटेको छ । आज बीमा समूहमा ९५.०६ अंकको गिरावट देखिएको छ । त्यसलाई जलविद्युत समूहले पछ्याएको छ । जलविद्युत समूहमा ३०.६९ अंकको कमी आयो भने होटल्स समूहमा १५.५५ अंकले घटेको छ ।

त्यसैगरि बाणिज्य बैंक समूहमा ९.१९ अंकले गिरावट आएको छ भने उत्पादनमूलक क्षेत्रको परिसूचक १३.१ अंकले कमी हुनपुग्यो । विकास बैंक समूहको परिसूचक ७.६९ तथा वित्त कम्पनीको परिसूचक १.०९ अंकले घटेको छ ।

आज समूहगत परिसूचकमा अन्य समूहको परिसूचकमा मात्र ०.८६ अंकको झिनो वृद्धि भएको छ ।

साताको पहिलो दिन कुल ५५ करोड ६७ लाख ३६ हजार १ सय ६५ रुपैयाँको कारोबार भएको छ । आज बजारमा कुल ९ लाख ५० हजार ४ सय ७३ कित्ता शेयर करोबार भए ।


क्लिकमान्डु