अर्थमन्त्री महराले भने- नयाँ सरकारमा कांग्रेसको अर्थमन्त्री




काठमाडौं । अर्थमन्त्री कृष्णबहादुर महराले अब बन्ने नयाँ सरकारका कांग्रेसको अर्थमन्त्री हुने बताएका छन् । कांग्रस र माओवादीबीच १० महिनाअघि भएको राजनीतिक सहमति अनुसार प्रधानमन्त्रीको दलको मान्छे अर्थमन्त्री हुनुपर्ने सहमति भएको मन्त्री महराले बताए ।

‘गठबन्धन सुरु हुँदै भएको राजनीतिक सहमतिअनुसार अब कांग्रेसको नेतृत्वमा सरकार बन्छ र अर्थमन्त्री कांग्रेसकै हुन्छ,’ शुक्रबार क्लिकमाण्डूसँग कुरा गर्दै मन्त्री महराले भने ।

गठबन्धनको सरकार बन्ने भएकाले कांग्रेसको अर्थमन्त्री बन्ने भएपनि आफूले ल्याएको बजेट पूर्णरुपमा कार्यान्वयन हुने महराले विश्वास व्यक्त गरे ।

‘गठबन्धन सरकारले नै आगामी आर्थिक वर्षको बजेट ल्याएको हो र अबको सरकार पनि यही गठबन्धनबाटै बन्छ, त्यसैले कांग्रेसको अर्थमन्त्री आएपनि मैले ल्याएको बजेट पूर्णरुपमा कार्यान्वयन हुन्छ,’ उनले भने ।

महराका अनुसार सहमति अनुसार गृह मन्त्रालय माओवादीले राख्ने छ । राजनीतिक उच्च नेतृत्वबीच नयाँ सरकार गठन र मन्त्रालय बाँडफाँटबारे छलफल तीब्र भइरहेको उनले जानकारी दिए ।

‘नयाँ सरकार गठनको छलफल तीब्र भइरहेको छ, प्रधानमन्त्रीको चुन्ने प्रक्रिया पनि संसदमा अघि बढिसकेको छ,’ महराले भने,– ‘प्रधानमन्त्री चुनिएपछि प्रधानमन्त्रीले सहमतिअनुसार मन्त्रीमण्ड विस्तार गर्नुहुनेछ ।’

अब बन्ने सरकारमा आफू मन्त्री बन्ने वा नबन्ने भन्नेबारे महराले केही उल्लेख गर्न चाहेनन् ।

‘मेरा लागि पद ठूलो कुरा होइन, पार्टीले दिएको जिम्मेवारी इमानदारीपूर्वक पालना गर्नेछु,’ उनले भने ।

आफूहरुले सहमतिको सरकार गठनको प्रयास गरेको तर प्रतिपक्षी एमाले छलफल प्रक्रियामा नआएपछि बहुमतीय सरकार गठनको प्रक्रिया सुरु गर्नु परेको उनले सुनाए ।

‘सहमतिको सरकार बनाउने छलफलमा प्रतिपक्षी एमाले आएन, त्यसैले बहुमतीय सरकार गठनको प्रक्रिया अघि बढाएका हौं,’ महराले भने,– ‘हाम्रो गठबन्धनको प्रष्ट बहुमत पुग्छ ।’

उनका अनुसार कांग्रेस, माओवादी, बिजय गच्छेदारको पार्टी मिल्दा नै ३ सय ५० पुग्ने र अरु शक्तिहरुले पनि नयाँ सरकार निर्माणमा समर्थन गर्छन् ।

यद्यपि माओवादी केन्द्र अझैपनि सहमतिको सरकार बनाउने प्रयासमा निरन्तर रहिरहने उनले सुनाए ।

आफूहरुलाई सरकार नछाड्न धेरैतिरबाट सुझाबहरु आए पनि सरकार गठन गर्ने बेलामा कांग्रेससँग भएको राजनीतिक सहमतिअनुसार प्रधानमन्त्री प्रचण्डले राजिनामा दिएको महराले बताए । र, यो गठबन्धन कम्तीमा पनि आगामी माघ ७ गतेको संसदीय निर्वाचन गरेसम्म रहने उनले विश्वास व्यक्त गरे ।


पुष्प दुलाल