दुईसय जनालाई चश्मा बनाउने तालिम



चितवन। प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी)ले नेपालमै पहिलोपटक चश्मा बनाउने तालिम सुरु गरेको छ ।

परिषद्का क्षेत्रीय निर्देशक शिवहरि ढकालकाअनुसार स्कुल अफ हेल्थ साइन्स भरतपुर, पोखरा र लहानमा सो तालिम सुरु गरिएको हो ।

भरतपुर र पोखरामा दुई चरणमा गरेर ८०/८० जनालाई तालिम दिइँदै छ भने लहानमा ४० जनालाई तालिम दिइँदैछ । स्कुल अफ हेल्थ साइन्स भरतपुरका प्राचार्य  अच्युत दाहालका अनुसार जुनियर अप्टिकल डिस्पेन्सर तालिममा १० कक्षा उत्तीर्ण भएकालाई सहभागि गराइएको छ ।

तीन महिनाका लागि पाठ्यक्रम तयार गरी तालिम सुरु गरेको हो । तालिममा सहभागिलाई चिकित्सकको सिफारिसमा चश्मा बनाउन र मर्मत गर्न सिकाइन्छ । भरतपुर आँखा अस्पताल, पोखराको हिमालयन आँखा अस्पताल र लहानको सगरमाथा चौधरी आँखा अस्पतालसँग सहकार्य गरेर तालिम दिइएको हो । भरतपुरमा पहिलो समूहले तालिम लिइसकेका छन् भने दोस्रो समूहका लागि विद्यार्थी भर्ना आह्वान गरिएको छ । अन्य दुई स्थानमा पहिलो समूहलाई तालिम दिने काम भइरहेको छ ।

स्कुल अफ हेल्थ साइन्स भरतपुरका सहायक प्राचार्य रमण मेहताका अनुसार तालिम लिनेलाई दैनिक खाजा खर्च र आवश्यक शैक्षिक सामग्रीसमेत उपलब्ध गराइएको छ ।


क्लिकमान्डु