‘हिमालयन ट्राभल मार्ट २०१७’ सुरु



काठमाडौं । विश्वका ठुला टुर अपरेर्टसहरुको सम्मेलन ‘हिमालयन ट्राभल मार्ट २०१७’ विहिबार देखि काठमाडौंमा सुरु भएको छ ।

आइतवारसम्म संचालन हुने मार्टमा ५३ देशका २ सय ५० भन्दाबढी व्लगर र टुरअपरेटर्सहरु सहभागी भएका छन । जसमा ३५ देशका १ सय ७ जना अन्तर्राष्ट्रिय मिडियाका प्रसिद्ध व्लगर तथा लेखकहरु पनि सहभागी भएका छन ।

विहिबार अन्तर्राष्ट्रिय ट्राभल व्लगर एन्ड मिडिया सम्मेलन सम्पन्न भएको छ । भने शुक्रबार हिमालयन ट्राभल मार्ट २०१७ को औपचारिक उद्घाटन राष्ट्रपति विद्यादेवी भन्डारीबाट गर्ने कार्यक्रम रहेको छ ।

बिहिबारको सम्मेलनको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि स्वास्थ्य मन्त्री गगन कुमार थापाले नेपाल हिमालय हेर्न र रमाउने विश्वका पाखरीहरुको लागि विश्वकै हव भएको बताए ।
‘नेपाल धेरै विविधताले भरिएको छ, अझै हिमालयनै नेपालको प्रमुख गन्तव्य हो,’ मन्त्री थापाले भने ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय मुख्य आयोजक रहेको मार्ट नेपालका हालसम्मको पहिलो र ठुलो सम्मेलन हो ।

‘नेपाल, गेट वे टु हिमालय’ भन्ने नारालाई साथ दिनका लागि नेपालसहित भारत, भूटान, पाकिस्तान र चीनले सहयोग गर्ने प्रतिवद्धता जनाएको पाटा नेपाल च्याप्टरका अध्यक्ष सुमन पाण्डेले बताए ।
उनले यो हिमालय ट्रेललाई विकास र प्रवद्धन गर्नका लागि पाटाले सहयोग गरेको र नेपाल सरकारले त्यसलाई प्रवद्धन गर्न सहयोग गर्ने विश्वास व्यक्त गरे ।

उनले हिमालयन ट्राभल मार्टलाई विश्वव्यापी बनाउन संसारभरका व्लगरको सहयोग लिइएको र उनीहरुमार्फत नेपालको पर्यटन क्षेत्रले नयाँ मोड लिने बिश्वास ब्यक्त गरे । पान्डेले नेपाललाई हिमालयको प्रवेशविन्दु बनाउने, नेपालसँग अन्य देशमा जोडिने हिमालयको सम्पूर्ण प्याकेज बनाएर अन्तर्राष्ट्रिय मार्केटमा बेच्ने योजना रहेको समेत जानकारी दिए ।

त्यस्तै पाटाका सिइओ डा. मारियो हार्डीले नेपालले पर्यटनको क्षेत्रवाट निकै फाइदा लिन सक्ने बताए । हार्डीले नेपालले नेपालको पर्यटन क्षेत्रलाई विश्व बजारमा लैजान नसकेको भन्दै सरकार र पर्यटन क्षेत्रसँग सम्वन्धित निकायले मिलेर चाँडोभन्दा चाँडो प्रचारप्रसार र सेल मिसनमा लाग्नुपर्ने सुझाव दिए ।

हिमालयको रेन्जमा नेपाल सेन्टरमा रहेकोले नेपालले यो क्षेत्रको पर्यटनलाई लिड गर्नुपर्ने पर्यटन बोर्डका पूर्व अध्यक्ष प्रचण्डमान श्रेष्ठले बताए । हिमालय क्षेत्रलाई पोलिटिकल नक्साभित्र हेर्न नहुने भन्दै छिमेकी सबै देशले मिलेर यो क्षेत्रको प्रवद्र्धन र विकास गर्नुपर्ने उनले बताए । यो क्षेत्रको विकास भयो भने हिमालय क्षेत्रका सबै जनता र देशको आर्थिक स्थितीमा सुधार हुने र त्यसमा नेपालले लिड गर्नुपर्ने बताए ।

नेपालमा सन् १९८२ मा पहिलो पटक प्यासिफिक एशिया ट्राभल एसोसिएसन अन्तरराष्ट्रिय (पाटा– अन्तरराष्ट्रिय) ले पहिलो पटक पाटा एडभेन्चर ट्राभल मार्ट संचालन गरेको थियो । पछिल्लो पटक सन् २०११ मा संचालन भएको थियो । जसमा नेपालमा जम्मा ६ पटक यस्तो कार्यक्रम भएको छ । नेपालबाट टुर अपरेर्टसहरु जहिले पनि विदेशमा जानु पर्ने अवस्थाको अन्त्य गर्दै यसपटक नेपालमै बायर र सेलरहरुको जमघट राजधानी काठमाडौंमा भएको छ । शनिवार र आइतार बि टु बि बैठकहरु संचालन हुने छन ।

हिमालय मार्टले साहसिक पर्यटनलाई पुर्नपरिभाषित गर्ने र नेपाललाई हिमालय क्षेत्रको प्रवेश मार्गको रुपमा स्थापित गर्ने अपेक्षा गरिएको छ । पर्यटन उद्योगको व्यवसायिक प्रवद्र्धन गर्ने महत्वपूर्ण अवसर प्राप्त हुने यस मार्टमा खरिदकर्ताको रुपमा वेलायत, भारत, भुटान, मलेसिया, बंगलादेश, म्यानमार, पाकिस्तान, दक्षिण अमेरिका, अस्ट्रेलिया, न्युजिल्याण्ड, रसिया तथा सीआइएस, एसिया र खाडी मुलुकका ठुला टुरअपरेर्टसहरु नेपाल आएका छन ।

‘नेपालमा पहिले यस्तो मार्ट पाटाले गर्ने भएता पनि नेपालले गर्न सकेको थिएन,’नेपाल पर्यटन बोर्डका कार्यकारी अधिकृत (सिइओ) दिपकराज जोशीले भने । मार्टले नेपाल गन्तव्यमा संसारको उत्कृष्ट हो भन्ने कुरा प्रमाणित हुने जोशीले बताए ।


क्लिकमान्डु