भरतपुरको मतगणना शुरु हुने, च्यातिएको मतपत्र गणना गरिने



भरतपुर । चितवनको भरतपुरमा महानगरपालिका प्रमुखको मत गणना हुँदै गर्दा मतपत्र च्यातिएपछि लगाइएको ताला सर्वदलीय बैठक गरेर आज खोलिएको छ।

सुरक्षा समिति र राजनीतिक दलको बैठकपछि च्यातिएका मतपत्र गणना गर्नेगरी ताला खोलिएको हो । मतगणनाका लागि उमेदवार र उनीहरुका प्रतिनिधिसहित ४६ जनालाई विशेष पासको व्यवस्था गरिएको छ।

निर्वाचन आयोगले जिल्ला निर्वाचन अधिकृतको कार्यालयलाई च्यातिएको मतपत्रको मतगणना गर्न निर्देशन दिएपछि सर्वदलीय बैठक बोलाइएको थियो ।

बैठकपछि ताला खोलेर विशेष सुरक्षासहित च्यातिएको मतगणना शुरु गरिन लागेको हो ।

निर्वाचन आयोगको निर्देशनअनुसार मुख्य निर्वाचन अधिकृतको कार्यालयले गरेको सुरक्षा समितिको बैठकपछि राजनीतिक दलका प्रतिनिधि पनि छलफलमा जुटेका थिए । दुबै बैठकपछि च्यातिएको मतपत्र गणना गरेर निर्वाचन आयोगमा जानकारी गराइने तयारी गरिएको छ ।

यसअघि माओवादी केन्द्रका दुई जना कार्यकर्ताले मतपत्र च्यातेको आरोप लाग्दै आएको छ । सो विवादपछि भरतपुर महानगरपालिकाको मतगणना स्थगित गरिएको थियो।


क्लिकमान्डु