ट्राफिक प्रहरीले पैदल यात्रीबाट २ दिनमै उठायो साढे ८ लाख भन्दा बढी



काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले २ दिनमा जथाभावी बाटो काट्ने पैदल यात्रुबाट ८ लाख ६८ हजार रुपैयाँ राजश्व संकलन गरेको छ । ट्राफिक प्रहरी महाशाखाले मंगलबारबाट जथाभावी बाटो काट्ने पैदल यात्रुमाथि कारबाही सुरु गरेको हो ।

महाशाखाले दुई दिनमा ६ हजार ९ सय ४० पैदल यात्रुलाई कारबाही गरेको छ । जसमध्ये ४ हजार ३ सय ४४ जनाले २ सय रुपैयाँका दरले जरिवाना तिरेका छन् । जरिवानबापत महाशाखाले ८ लाख ६८ हजार रुपैयाँ राजस्व उठाएको हो ।

बाँकी २ हजार ५ सय ९६ जनालाई ट्राफिक सचेतना कक्षा लिएको महाशाखाले जानकारी दिएको छ । महाशाखाले जेब्राक्रसिङ र आकाशेपुलबाट सडक नकाटि जथाभावी सडक काट्ने पैदल यात्रीलाई कारबाही गरेको हो ।

महाशाखाका अनुसार प्रत्यक बर्ष सडक दुर्घटनामा परी १ सय ७० पैदल यात्रुको मुत्यु हुने गरेको छ । सडक दुर्घटनामा मुत्यु हुने पैदल यात्रुको संख्या काठमाडौं उपत्यकामा मात्रै ४२ प्रतिशत हुने महाशाखाले जानकारी दिएको छ । यस्तो दुर्घटना कम गर्ने भन्दै ट्राफिकले यस्तो अभियान सुरु गरेको हो ।


क्लिकमान्डु