नेपालीहरुको खानपानमा परिवर्तन आएको छः अध्ययन प्रतिवेदन



काठमाडौं । विगत १७ वर्षमा नेपालीहरुको आहार विविधतामा परिवर्तन आएको एक अध्ययनले देखाएको छ । कृषि विकास मन्त्रालय र अन्तराष्ट्रिय खाद्य अनुसन्धान इन्टिच्यूट (इफ्रि)ले गरेको अध्ययनअनुसार नेपालीहरुको खानपानमा परिवर्तन आएको देखिएको हो ।

कृषि विकास मन्त्रालय र अन्तर्राष्ट्रिय खाद्य अनुसन्धान इन्टिच्यूट (इफ्रि)ले आज हाउसहोल्ड फुड एक्सपेडिचर, डायटरी डाइभर्सिटी एण्ड न्यूट्रिसन आउटकम्स इन नेपाल विषयक अध्ययनको प्रतिवेदन सार्वजनिक गर्दै प्रमुख खाद्यान्नमा खर्च गर्ने रकमको हिस्सा बढिरहेकोे उल्लेख गरेको छ ।

सन् १९९५ देखि सन् २०११ सम्मको अवधिलाई तीन हिस्सामा बाँडेर गरिएको अध्ययनमा नेपालीहरुको आहार विविधतामा उल्लेख्य सुधार भएको देखिएको छ ।

सो प्रतिवेदनको बारेमा जानकारी दिँदै इफ्रिका रिसर्च फेलो डा अन्जनी कुमारले खाद्यान्नको रुपमा अन्नमा गरिने खर्च घटिरहेको बताए । उनले सो अवधिमा ३२ प्रतिशत अन्नको उपयोगकमा कमी आएको र सोही अवधिमा फलफुल, तरकारीहरु, मासुलगायतका खाद्यान्नको हिस्सा भने बढेको बताए ।

कार्यक्रममा कृषि विकास मन्त्रालयका सचिव डा सुरोज पोखरेलले यस्ता अनुसन्धान प्रतिवेदनले सरकारलाई खाद्यान्न उपयोगिताको बारेमा नयाँ जानकारी हासिल हुने बताए । उनले कम लगानीमा गरिने यस्ता अनुसन्धान प्रकृयालाई आगामी दिनमा पनि गरिने भन्दै यस प्रतिवेदनको सुझाव र सल्लाहलाई आगामी दिनमा मन्त्रालयले नीतिगतरुपमा समावेश गर्ने उल्लेख गरे ।

करिब ११ वटा खाद्य पदार्थको बारेमा गरिएको अध्ययनअनुसार शहरी तथा तराई क्षेत्रमा आहार गुणस्तर राम्रो अवस्थामा भएको भएपनि विशेषगरि सुदुर पश्चिम क्षेत्रलगायत ग्रामीण भेगमा कमजोर रहेको देखिएको छ ।

प्रतिवेदनले निरक्षर अभिभावक भएको घरमा न्यून गुणस्तरीय खानाको उपलब्धता हुने गरेको उल्लेख गरेको छ । त्यसैगरि टेलिभिजन, मोबाइल फोन प्रयोग हुने घरपरिवारमा मासुजन्य पदार्थको उपयोगमा वृद्धि भएको देखिएको भएता पनि कार प्रयोग गर्ने घरपरिवारमा विरुवाजन्य खाद्यान्नको प्रयोग घट्दोक्रममा रहेको छ ।

कार्यक्रममा अन्य वक्ताहरुले यो प्रतिवेदनलाई थप सुधार गर्नुपर्ने र आगामी दिनमा सरकारी नीति निर्माणको प्रकृयामा समावेश गर्नुपर्ने सुझाव दिएका थिए ।


क्लिकमान्डु