केएमजी र एफ–वान सफ्टबीच साझेदारी



काठमाडौं । मोबाइल फोनमा आधारित विद्युतीय आर्थिक कारोबारलाई अझ सर्वसुलभ बनाउने उद्देश्यले कान्तिपुर मिडिया ग्रुप (केएमजी) ले ‘एफ–वान सफ्ट’ कम्पनीमा लगानी गरेको छ । एफ–वान सफ्टले ई–सेवालगायत मोबाइल/इन्टरनेट बैंकिङजस्ता वित्तिय प्रविधिको क्षेत्रमा काम गर्दै आएको छ । यसका सेवाहरु नेपालका सबैजसो, करिब ९५ प्रतिशत प्रमुख बैंक एवम् वित्तिय संस्थाहरुले प्रयोग गर्ने गरेका छन्, जसमार्फत ५० लाखभन्दा बढी ग्राहकहरु लाभान्वित हुन्छन् ।

एफ–वान सफ्टअन्तर्गतको ई–सेवाले ‘मोबाइल वालेट’ र ‘पेमेन्ट गेटवे’ का रुपमा विगत नौ बर्षदेखि बैंक तथा बित्तिय संस्थाहरुलाई आम नागरिकसँग जोड्दै आएको छ । यसको सेवा लिने ग्राहकहरुले मोबाइलबाटै महसुल तिर्न, रकम तिर्न र पठाउन सक्छन्, नगद रकम बोकिरहनु पर्दैन ।

‘केएमजीसँगको हाम्रो साझेदारीले लाखौं मानिसको हात–हातमा पुगेको मोबाइलमार्फत विद्युतीय आर्थिक कारोबार गर्न यसले सहजीकरण गर्नेछ, जसका कारण बैंकिङ संस्थाहरुको भौतिक उपस्थिती नपुगेको दुरदराज क्षेत्रका तल्लो तहमा समेत वित्तिय सेवाहरु सम्भव हुनेछन्,’ एफवान सफ्टका अध्यक्ष विश्वास ढकालले भने ।

केएमजीसँगको सहकार्यमा एफ–वान सफ्टले स्थानिय आवश्यक्तामा आधारित वित्तिय प्रविधिहरुको विकास र विस्तार गर्ने उद्देश्य लिएको छ । एफ–वान सफ्टले आगामी दिनमा स्थानिय बजारलाई अनुकूल हुने नवीन प्रविधिको विकासमा बिशेष जोड दिने कम्पनीद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।


क्लिकमान्डु