अर्थमन्त्री महराले भने- देउवा सरकारको अर्थमन्त्री मै हुनसक्छु




काठमाडौं । अर्थमन्त्री कृष्णबहादुर महराले नयाँ सरकारको अर्थमन्त्रीमा आफू दोहोरिन सक्ने बताएका छन् । महराले कांग्रेस–माओवादी गठबन्धनबाटै नयाँ सरकार बन्ने भएकाले आफू नयाँ सरकारको अर्थमन्त्री बन्न सक्ने संभावना रहेको बताएका हुन् ।

प्रधानमन्त्रीले राजिनामा दिइसकेको र आगामी केही दिनमै नयाँ सरकार गठन हुने निश्चित हुँदाहुँदै सरकारले ल्याएको बजेट कसरी कार्यान्वयन होला ? भन्ने पत्रकारको प्रश्नमा मन्त्री महराले नयाँ सरकारमा पनि आफू अर्थमन्त्री बन्न सक्ने जवाफ दिए ।

‘नयाँ सरकार अहिलेकै गठबन्धनबाट बन्ने हो, त्यसैले त्यो सरकारमा म अर्थमन्त्रीकै भूमिकामा निरन्तरता पाउन सक्छु,’ सोमबार सार्वजानिक भएको बजेटबारे जानकारी दिने उद्देश्यले मंगलबार अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री महराले भने ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केही दिनअघि पदबाट राजिनामा दिइसकेका छन् । प्रधानमन्त्रीको राजिनामासँगै सरकार कामचलाउन भएको छ ।

कांग्रेससँग भएको पूर्वसहमति अनुसार नै आफूले इमानदारीपूर्व राजिनामा दिएको प्रचण्डले बताइसकेका छन् । कांग्रेस–माओवादीबीबच भएको सहमतिअनुसार अब प्रधानमन्त्रीका लागि हुने निर्वाचनमा माओवादीले कांग्रेसका उम्मेद्वारलाई समर्थन गर्नेछन् । र, नयाँ सरकारको सबैभन्दा ठूलो हिस्सेदारीसहित माओवादी कांग्रेस नेतृत्वको सरकारको सत्तासाझेदार बन्ने छ ।

संसदीय व्यवस्थामा संसदीय दलको नेता नै प्रधानमन्त्रीको उम्मेद्वार हुने प्रचलन छ । जसकारण् कांग्रेस सभापति र संसदीय दलको नेतासमेत रहेका शेरबहादुर देउवा भावी प्रधानमन्त्रीकोरुपमा चर्चामा आएका छन् । देउवाले नयाँ सरकार गठनका लागि पार्टीभित्र र सत्ता साझेदारहरुसँगको छलफललाई पनि तीब्र बनाएका छन् ।

तर, नयाँ सरकार गठन हुँदा कुन मन्त्रालय कसको भागमा पर्लान् भनेर अहिले नै अनुमान लगाउन भने कठिन छ । यद्यपि माओवादीले उपप्रधानसहित गृह वा अर्थमध्ये एक महत्वपूर्ण मन्त्रालय पाउने निश्चित छ ।

कांग्रेसले गृह मन्त्रालय राख्यो भने माओवादीले अर्थ मन्त्रालय पाउने देखिन्छ । यसरी माओवादीले अर्थ मन्त्रालय पायो भने अध्यक्ष प्रचण्डका विश्वासपात्र मानिएका महराले नयाँ सरकारमा पनि अर्थमन्त्री बन्ने अवसर पाउन सक्ने देखिन्छ ।


पुष्प दुलाल