बजेटको ब्रिफिङ गर्दै अर्थमन्त्री महराले भने- केन्द्रमा बजेट राखेर हालुमहाली गर्नेहरु दुखी भए



काठमाडौं । अर्थमन्त्री कृष्णबहादुर महराले केन्द्रमा बजेट राखेर हालीमुहाली गर्नेहरु दुखी भएको बताएका छन् । सरकारले बजेटमार्फत सिंहदरबारमा रहेको अधिकार गाउँगाउँमा पुर्याएको दाबी गर्दै मन्त्री महराले अब मुलुकले विकासको फड्को मार्ने बताए ।

‘यो सरकारले गाउँलाई बजेट दिएको छ, जसबाट सबै खुसी छन्,’ महराले भने,- ‘तर केन्द्रमा बजेट राखेर हालीमुहाली गर्नेहरुलाई भने बजेटले दुखी बनाएको छ ।’

सोमबार मन्त्री महराले आगामी आर्थिक वर्षका लागि १२ खर्ब ७८ अर्ब ९९ करोड रुपैयाँ बराबरको संसदमा प्रस्तुत गरेका थिए । बजेटले ७ सय ४४ स्थानीय तह र ७ प्रदेशलाई २ खर्ब २५ अर्ब रुपैयाँ दिएको छ ।

बजेटबारे जानकारी दिने उद्देश्यले मंगलबार अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा महराले अब बजेट स्वीकृतिका लागि सिंहदरबार धाउनुपर्ने दिन सकिएको बताए ।

आफूले ल्याएको बजेट कार्यान्वयन हुने मन्त्री महराको दाबी छ । उनले आगामी आर्थिक वर्ष ७.२ प्रतिशतको आर्थिक वृद्धि हुने केही आधारसमेत प्रस्तुत गरे ।

‘स्थानीय तहमा जाने र भुकम्प पछिको पुन निर्माणमा जाने मोटो रकमको बजेटले आगामी आर्थिक वर्ष ७.२ प्रतिशतको आर्थिक वृद्धि हासिलमा ठूलो योगदान पुग्छ भन्ने मेरो विश्वास छ,’ महराले भने ।

त्यसैगरी सरकारले लिएको राजस्वको लक्ष पनि हासिल हुने उनले बताए । बजेटले आगामी आर्थिक वर्ष ७ खर्ब ३० अर्ब रुपैयाँ आजस्व असूली गर्ने लक्ष्य राखेको छ । आफूले करको दर नबढाई दायरा बढाएको उनको भनाई छ ।


पुष्प दुलाल