भरतपुरःमतगणना छानबिन गर्न एमालेको माग



काठमाडौं । चितवन भरतपुर महानगरपालिकाको मतगणनास्थलमा केही मतपत्र च्यातिएको घटनाका सम्बन्धमा आयुक्त नै पुगेर छानबिन गर्न नेकपा ९एमाले०को उच्चस्तरीय टोलीले आज निर्वाचन आयोगको ध्यानाकर्षण गराएको छ ।

आयोगको कार्यालय कान्तिपथमा पुगी सो पार्टीका अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ नेता झलनाथ खनाल, नेता माधवकुमार नेपालसहितको टोलीले प्रमुख आयुक्त डा यादव र आयुक्तलाई भेटी सो घटनाका नाममा पुनःमतदानतर्फ जाँदा निर्वाचनको प्रणाली र मूल्यमान्यतामा नै प्रश्न उठ्ने भएकाले च्यातिएका मतलाई अलग राखेर गणना गरी परिणाम घोषणा गर्न सकिने जनाएको छ ।

भेटपछि एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले मतपत्र च्यात्ने कार्यमा संलग्नलाई सुरक्षाकर्मीले तत्काल नियन्त्रणमा लिइसकेकाले सो घटनालाई गणनास्थल कब्जाका रुपमा लिन नपर्ने र कब्जा नभएको अवस्थामा मात्र पुनः मतदानमा जाने कानुनी व्यवस्था भएको बताए ।

उनले ‘महानगरपालिका प्रमुखमा एमालेका उम्मेदवार देवी ज्ञवालीको जित सुनिश्चित भएका अवस्थामा सो घटना गराई पुनः मतदानमा लाग्ने षड्यन्त्र गरेको’ भन्दै आफ्नो पार्टीलाई त्यस्तो काम मान्य नहुने स्पष्ट पारिएको जानकारी दिए ।

‘छानबिन गरेर मतगणना सञ्चालन गरियोस् । एमाले हार्न तयार छ, तर देश, जनता र निर्वाचन पद्धतिले जित्नुपर्छ । यस्ता घटनामा पुनः मतदान गराउँदै जाने हो भने आगामी निर्वाचनमा परिणाम आफ्नो हातमा पार्न निश्चित नभएसम्म मतदान र गणना प्रक्रिया भत्काउने प्रवृत्तिले प्रोत्साहन पाउँछ ।’ उनले भने ।


क्लिकमान्डु