महिला भलिबललाई शिवम् सिमेन्टको सहयोग



काठमाडौं । केएनपी राष्ट्रिय महिला भलिबल प्रतियोगितामा शिवम् सिमेन्ट सह–प्रायोजकको हुने भएको छ । शेरबहादुर खड्का स्मृति प्रतिष्ठानको आयोजनामा यही जेठ २३ गतेदेखि सुरु हुने प्रतियोगितामा शिवम् सिमेन्टले सह–प्रायोजन गर्न लागेको हो ।

सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा शेरबहादुर खड्का स्मृति प्रतिष्ठानका अध्यक्ष रन्जन खड्का र शिवम् सिमेन्ट प्रालिका अध्यक्ष सुरेन्द्रकुमार गोयलले सम्झौतापत्रमा हस्ताक्षर गरे । सम्झौता अनुसार शिवम् सिमेन्टका तर्फबाट आयोजक शेरवहादुर खड्का स्मृति प्रतिष्ठानलाई नगद ३ लाख रुपैयाँ उपलब्ध गराउने छ । साथै प्रतियोगिता अवधिभर कार्यक्रम स्थलमा ब्यानर, होडिङ बोर्ड तथा तुललगायतका खर्च पनि शिवम् सिमेन्टले बेहोर्ने छ ।

शिवम् सिमेन्टका अध्यक्ष गोयलले भलिबल नेपालको राष्ट्रिय खेल घोषणा भएकोमा बधाई ज्ञापन गर्दै नेपाली खेलकुद क्षेत्रमा कम्पनीले पहिलो पटक महिला भलिबललाई प्रायोजन गरेको बताए ।

शिवम् सिमेन्टले ब्यक्तिगत स्पर्धातर्फको दुई बिधाका उत्कृष्ट खेलाडीलाई पनि पुरस्कृत गर्नेछ । जसअन्र्तगत शिवम् सिमेन्ट बेस्ट डिफेन्स र शिवम् सिमेन्ट बेस्ट ब्लकरको उपाधि प्रदान गरिने छ ।
प्रतियोगिताका विजेताले एक लाख ५० हजार, उपविजेताले एक लाख र तेस्रो हुने टोलीले नगद ५० हजार रुपैयाँ प्राप्त गर्ने छन् । प्रतियोगिताको अनुमानित बजेट १२ लाख रहेको जनाइएको छ । प्रतियोगिताका सम्पूर्ण खेल त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा सञ्चालन हुने छ ।


पुष्प दुलाल