विदेशबाट नेपालमा पैसा पठाउँदा लाग्ने शुल्क सरकारले नै ब्यहोर्ने




काठमाडौं । औपचारिक माध्यमबाट रेमिटान्स कम आउने देशहरुबाट नेपालमा रकम पठाउँदा पैसा नलाग्ने ब्यवस्था गर्न लागिएको छ । औपचारिक माध्यमबाट रकम नपठाइ हुन्डीको प्रयोग अत्याधिक हुने दक्षिण कोरिया लगायतका मुलुकबाट नेपालमा रकम पठाउँदा पैसा नलाग्ने ब्यवस्था गर्न लागिएको हो ।

नेपाल राष्ट्र बैंकले चालु आर्थिक बर्षको बजेटका लागि यस्तो सुझाव दिएको छ । अर्थमन्त्रालय स्रोतका अनुसार राष्ट्र बैंकले दिएको यस्तो सुझाव राम्रो देखिएकोले बजेटमा समाबेश गर्न लागिएको अर्थमन्त्रालय स्रोतले जानकारी दियो ।

‘धेरै नेपाली गएका देशहरुबाट औपचारिक माध्यमबाट रेमिटान्स आउने मात्रा निकै कम छ, त्यस्ता देशहरुबाट नेपालमा रकम पठाउँदा पैसा नलाग्ने ब्यवस्था गर्नु उचित हुन्छ भन्ने सुझाब राष्ट्र बैंकले दिएको छ, यो राम्रै लागेकोले बजेटमा समाबेश गर्ने भनिएको छ, सायद बजेटमा आउँछ होला,’ मन्त्रालय स्रोतले भन्यो ।

नेपाल सरकार र दक्षिण कोरिया सरकारको सम्झौताबाट त्यहाँ गएका नेपालीले पनि औपचारिक माध्यमबाट नेपालमा रकम पठाउने गरेका छैनन् । हुन्डीको कारोबार बढेको भन्दै त्यसलाई नियन्त्रण गर्न यस्तो सुझाव राष्ट्र बैंकले दिएको हो ।

यस्ता मुलुकबाट रकम पठाउँदा लाग्ने खर्च सरकारले ब्यहोर्ने ब्यवस्था गर्न लागेको हो ।


क्लिकमान्डु