मतपत्र च्यात्नेलाई २ वर्ष जेल र एक लाख जरिवाना



काठमाडौं । भरतपुरमा मतगणना जारी रहदा मतपत्र च्यातिएको छ । मतपत्र च्यातिएपछि पुनः मतदान गर्नुपर्ने कानूनी व्यवस्था भएजस्तै मतपत्र च्यात्नेलाईपनि कारवाहीको व्यवस्था कानूनले गरेको छ ।

मतपत्र च्यातेको आरोपमा माओवादी केन्द्र र एमालेका तीन जना कार्यकर्तालाई प्रहरीले प्रक्राउ गरेको छ ।

निर्वाचन कसुर तथा सजाय ऐन २०७३ को दफा १६ मा मतपत्र च्यात्नेलाई कारवाहीको व्यवस्था उल्लेख छ । मतपत्र च्यातिएको पुष्टि भएपछि दोषीलाई निर्वाचन आयोग ऐन अनुसार अधिकतम २ वर्ष जेल र १ लाख रुपैयाँसम्म जरिवाना हुनसक्ने कानूनमा उल्लेख छ ।

‘दफा १६ले मतपत्र च्यात्नेलाई दुई वर्ष कैद वा एक लाख रुपैयाँ जरिबाना वा दुवै सजाय हुन सक्ने’ उल्लेख गरेको छ ।

कारवाही प्रक्रिया अगाडि बढाउने अधिकार निर्वाचन आयोगलाई रहेको छ ।

निर्वाचन आयोगका सचिव गोपिनाथ मैनालीका अनुसार मुख्य निर्वाचन अधिकृतले निर्वाचन आयोगमा मतपत्र च्यातिएको सम्बन्धमा अहिलेसम्म कुनैपनि लिखित जाहेरी दिएका छैनन् । निर्वाचन अधिकृत जाहेरी आएपछि आयोगले कानूनले दिएको अधिकार प्रयोग गर्ने उनले बताए ।


क्लिकमान्डु