मध्यरातमा कसले च्यात्यो भरतपूर महानगरको मतपत्र ?




काठमाडौं । भरतपुर महानगरपालिकाको मतपत्र च्यातिएको छ । मतगणना जारी रहेको बेलामा राती ११ः५२ बजे मतगणना स्थलमा रहेका दलका प्रतिनिधिले नै मतपत्र च्यातेको निर्वाचन आयोगका सचिब गोपीनाथ मैनालीले जानकारी दिए ।

‘प्रहरीले दिएको मौखिक जानकारी अनुसार २ वटा मतपत्र च्यातिएको छ, निर्वाचन आयोगका प्रतिनिधिहरुले भने १०० को हाराहारीमा मतपत्र च्यातिएको तलमाथि भएको हुन सक्ने मौखिक जानकारी दिएका छन्, मुख्य निर्वान अधिकृतले लिखित जानकारी नदिएकोले यसै हो भन्न सक्ने अबस्था छैन,’ सचिब मैनालीले क्लिकमाण्डूसँग भने ।

मुख्य निर्वाचन अधिकृतले आज बिहान आयोगका सचिब मैनालीलाई फोन गरेर लिखित जानकारी गराउने अन्तिम तयारी भइरहेको बताएका थिए ।

मतपत्र च्यातिएपछि अनिश्चित समयसम्मको लागि मतगणना स्थगित भएको छ । प्रमुख निर्वाचन अधिकृतले मतगणनास्थलमा सार्बजनिक सुचना टासेर अर्काे सुचना प्रकाशित नभएसम्मको लागि मत गणना स्थागित भएको जानकारी दिएका हुन् ।

मतपत्र कसले च्यातेको भन्ने विषयमा निर्वाचन आयोगले कुनै जानकारी दिएको छैन । आयोगले औपचारिक रुपमा गराएको जानकारी अनुसार मतगणनास्थलमा रहेका दलका प्रतिनिधिले मतपत्र च्यातेका हुन् ।

मतपत्र च्यातिएको विषयमा नेकपा एमाले र माओवादी केन्द्रले एक अर्कालाई आरोप लगाएका छन् । माओवादी केन्द्रका प्रतिनिधिले मतपत्र च्यातेको आरोप एमालेको छ भने एमाले प्रतिनिधिले च्यातेको माओवादी केन्द्रको आरोप छ ।

मतपत्र च्यातेको समयमा मतगणनास्थल रणमैदान जस्तै देखिएको निर्वाचन आयोगको भनाइ छ । भरतपूर महानगरको १९ नम्बर वडाको मतपत्र च्यातिएको हो ।
मतपत्र च्यातिएपछि प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । पक्राउ परेका ब्यक्ति कुन दलका प्रतिनिधि हुन भन्ने विषयमा प्रहरी वा आयोग कसैले पनि औपचारिक जानकारी गराएका छैनन् । मतपत्र च्यात्नुअघिसम्मको परिणाअनुसार दाहाल र ज्ञवालीको मतान्तर ७ सय ३३ पुगेको थियो।

भरतपूर महानगरको अब १९ र २० नम्बर वडाको मात्रै मत गणना बाँकी थियो ।

अहिले मतगणनास्थल सिलबन्दी गरेर प्रहरीले सुरक्षा दिएर राखिएको छ ।


पुष्प दुलाल