महिला भलिबल प्रतियोगिता जेठ २३ बाट, केएनपीको ५ लाख, बिजेता टिमलाई १ लाख ५० हजार



काठमाडौं । शेरबहादुर खड्का स्मृति प्रतिष्ठानको आयोजनामा हुने राष्ट्रिय महिला भलिबल प्रतियोगितालाई बहुउद्देश्यीय पेन्टस् कम्पनी केएनपी जापान प्रालिले मुख्य प्रायोजन गर्ने भएको छ ।

आगामी जेठ २३ गतेदेखि हुने प्रतियोगिताका लागि प्रतिष्ठानका अध्यक्ष रन्जन खड्का र केएनपी जापानका कन्ट्री डाइरेक्टर मनोज मिश्रले सम्झौतापत्रमा हस्ताक्षर गरे ।

सम्झौता अनुसार प्रतियोगिताको नाम ‘केएनपी राष्ट्रिय महिला भलिबल प्रतियोगिता’को नामबाट सञ्चालन हुनेछ ।

मुख्य प्रायोजन गरेबापत कम्पनीले आयोजकलाई नगद पाँच लाख उपलब्ध गराउने छ । कार्यक्रममा मिश्रले भलिबल खेल नेपालको राष्ट्रिय खेल भएकोमा बधाई दिदैं आगामी दिनमा पनि भलिबललाई प्राथामिकता दिने प्रतिवद्धता जनाए ।

कार्यक्रममा नेपाल भलिबल संघका अध्यक्ष मनोरञ्जनरमन शर्मा र महासचिव जितेन्द्र चन्दलगायतको उपस्थिति रहेको थियो ।

यस्तै प्रतियोगिताको सह–प्रायोजकका रुपमा शिवम् सिमेन्ट रहेको छ भने बिशेष सहयोगीका रुपमा राष्ट्रिय खेलकुद परिषद्, नेपाल भलिबल संघ, आइएमई रेमिट र डल्फीन चियरले पनि साथ दिएका छन् ।

प्रतियोगिताको प्रथम नगद पुरस्कार एक लाख ५० हजारको प्रायोजन क्वायरटुफ म्याट्रेस्ले प्रायोजन गर्ने छ ।

त्यस्तै प्रतियोगितामा केएनपी सर्वोकृष्ट खेलाडीलाई एयर एसियाले काठमाडौं मलेसिया–काठमाडौंको आतेजाते हवाई टिकट प्रदान गर्नेछन् । जसमा शेरबहादुर खड्का स्पेशल अवार्डबाट नगद १० हजारसहित एक खेलाडी सम्मानित हुनेछन् ।

बुद्ध एयर बेस्ट प्रशिक्षकको उपाधि अन्तरर्गत माउन्टेन फ्लाईटको टिकट प्रदान गरिनेछ । केएनपी बेस्ट स्पाइकर, केएनपी बेस्ट क्वीकर, केएनपी बेस्ट सेटर, शिवम् सिमेन्ट बेस्ट ब्लकर, बेस्ट डिफेन्स र केएनपी बेस्ट सर्भर पनि पुरस्कृत गरिने छ ।

लिगकम नकाउटका आधारमा जेठ २३ देखि २६ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा एपीएफ, न्यु डायमन्ड, नेपाल पुलिस क्लब, पश्चिमाञ्चल भलिबल संघ, त्रिभुवन आर्मी क्लब र जावलाखेल भलिबल प्रशिक्षण केन्द्रका ६ टोलीको सहभागिता रहने छ ।

प्रतियोगिताका विजेताले १ लाख ५० हजार, उपविजेताले १ लाख र तेस्रो हुने टोलीले नगद ५० हजार रुपैयाँ प्राप्त गर्ने छन् । प्रतियोगिताका सम्पूर्ण खेल त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा हुनेछ ।


क्लिकमान्डु