प्रधानमन्त्रीको राजिनामाले दोस्रो चरणको चुनाव अन्यौलमा : एमाले



काठमाडौं । नेकपा एमालेले दोस्रो चरणको निर्वाचनको काम गर्नुपर्ने समयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दिएको राजिनामा निर्वाचन अन्यौलमा बनाएको बताएको छ ।

एमाले अध्यक्ष केपी ओलीको निवास बालकोटमा बसेको स्थायी समितिको बैठकले स्थानीय तहको संख्या र सीमा हेरफेर गर्ने सरकारको निर्णयले जेठ ३१ गते हुन गइरहेको स्थानीय तहको दोस्रो चरणको निर्वाचनलाई अन्योलपूर्ण बनाइरहेको, तत्कालै संसद्मा सरकारको नीति तथा कार्यक्रम र बजेट पेस गर्नुपर्ने समयमा प्रधानमन्त्रीको राजिनामा ठिक नभएको निस्कर्ष निकालेको हो ।

एमालेले संविधान संसोधन प्रस्ताव तथा प्रधानन्यायाधीशमाथिको महाअभियोग प्रस्ताव, स्थानीय तहको पहिलो चरणको निर्वाचनमा सरकारी तवरबाट भएका ज्यादतीहरुको संसदीय छानबिनको माग गरिरहेको बेला त्यसमा सरकारका तर्फबाट आवश्यक पहलकदमी लिएर राजनीतिक सहमतिको वातावरण निर्माण गर्नुपर्नेमा स्थानीय तहको घोषित निर्वाचन समयमै सम्पन्न गर्नुपर्ने जिम्मेवारी रहेको सरकारका प्रधानमन्त्रीले आफ्नो पदबाट राजीनामा दिएर परिस्थितिलाई झन् अन्योलपूर्ण बनाएको निचोड निकालेको छ ।

हाम्रो पार्टी स्थानीय तहको पूर्वनिर्धारित संख्या र सीमाभित्र रहेर आगामी जेठ ३१ गते स्थानीय तहको दोस्रो चरणको निर्वाचन सम्पन्न गर्न जोडदार माग गर्दै यसका लागि सम्बन्धित सबैको गम्भीर ध्यानाकर्षण गराएको बैठकपछि प्रचार विभाग प्रमुख योगेश भट्टराईले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।


क्लिकमान्डु