उद्योग वाणिज्य महासंघको महानिर्देशकमा सुरेश मान श्रेष्ठ नियुक्त



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको महानिर्देशकमा नेपाल सरकारका पूर्व सचिव सुरेश मान श्रेष्ठ नियुक्त भएका छन् । उनलाई जेठ ८ गतेदेखि लागू हुनेगरि महासंघको महानिर्देशकमा नियुक्त गरिएको हो । तीन दशकभन्दा बढी समय सरकारी सेवामा बिताएका श्रेष्ठ पछिल्लो पटक राष्ट्रिय योजना आयोगको सचिवबाट सेवा निवृत्त भएका थिए ।

उनले संयुक्त राष्ट्रसंघको लागि नेपालको स्थायी नियोग जेनेभामा समेत कार्यरत रही नेपाललाई विश्व व्यापार संगठनको सदस्य बनाउने सन्दर्भमा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । कोलकत्तास्थित महावाणिज्यदूत समेत भई कार्य गर्नु भएका नवनियुक्त महानिर्देशक श्रेष्ठसंग कुटनीतिक, शैक्षिक, आर्थिक, उद्योग व्यवसाय क्षेत्रका साथै प्रशासनमा समेत निकै राम्रो दख्खल रहेको महासंघले जनाएको छ ।

विज्ञान र जनप्रशासन विषयमा स्नातकोत्तर श्रेष्ठले नेदरल्याण्डबाट वातावरण व्यवस्थापनमा पोष्ट ग्राजुएट गरेका छन् । विभिन्न अन्तर्राष्ट्रिय सभा, सेमिनार र बैठकहरुमा नेपालको तर्फबाट प्रतिनिधित्व गरेका श्रेष्ठको अनुभवबाट आर्थिक व्यवसायिक क्षेत्रमा निजी क्षेत्रका तर्फबाट प्रभावकारी भूमिका निर्वाह गर्न बल पुग्ने विश्वास महासंघले लिएको जारी विज्ञप्तिमा उल्लेख छ ।


क्लिकमान्डु