भूकम्प पीडितलाई घर बनाउँदा नक्सापासमा आधा शुल्क छुट
नुवाकोट । विदुर नगरपालिकाका भूकम्प पिडितले नक्सापासमा लाग्ने राजस्व शुल्कमा आधा छुट पाउने भएका छन् ।विदुर नगरपालिकाको निर्वाचित जनप्रतिनिधिको पहिलो बैठकले भूकम्पपीडितलाई नयाँ घर बनाउँदा नक्सापासमा लाग्ने राजस्व शुल्क आधा छुट दिने निर्णय गरेको हो ।
विदुर नगरपालिकामा पदबहाली भएसँगै मंगलबार बसेको नगर कार्यपालिकाको पहिलो बैठकले वैशाख १२ को भूकम्पले आवास गुमाएर नयाँ घर निर्माण गर्नुपर्ने प्रभावितलाई नक्सापासमा अहिले लिँदै आएको शुल्कमा आधा छुट दिएर पीडितलाई राहतको अनुभूति दिन खोजिएको प्रमुख सञ्जु पण्डितले जानकारी दिए ।
लाभग्राही सूचीमा नाम भएका पीडितले नयाँ आवास निर्माणका लागि यसअघि नगरपालिकामा तिर्दै आएको राजस्वलाई तत्कालै कार्यान्वयन हुनेगरी आधा रकम छुटको निर्णय गरी जनतालाई राहतको महसुस गराउन सुरु गरिएको पण्डित बताउँछन् ।
‘नक्सापासमा रकम छुट दिने निर्णयले पीडितलाई १५ हजार रुपैयाँसम्म नगद बचत हुने भएकाले तत्कालै राहतको महसुस गराउन खोजेका हौँ, नगरपालिकाले नक्सापास गर्दा पक्की घर बनाउनेलाई एक वर्गफिटको ७ हजार रुपैयाँ र अस्थायी आवासको ४ हजार रुपैयाँ राजस्व सङ्कलन गर्दैै आएको छ,’ पण्डितले भने ।
विदुर नगर कार्यपालिकाको बैठकले नगरपालिकामा रहेका १३ वडाको वडा कार्यालय स्थापना गरी सहजरुपमा सेवा प्रवाह गर्न एक÷एक लाख रुपैयाँ बजेट निकासा गरी वडाअध्यक्षहरुलाई जिम्मेवारी दिइएको छ ।