मोबाइल बैंकिङ उपयोग गर्नुहुन्छ ? सुरक्षाका यी ७ उपायहरुमा ध्यान दिनुस्




काठमाडौं । पछिल्लो दिनमा मोबाइलमा नै आफ्ना सबै अफिसियल कामहरु गर्ने प्रचलन निकै बढिरहेको छ । अझ धेरैजसोले आफ्नो कारोबारको गतिबिधि पनि मोबाइल फोनबाट नै नियाल्ने गरेका छन् ।

अधिकांश बैंकहरुले मोबाइल बैंकिङको सुविधा दिने हुँदा हरेकले मोबाइलबाट नै आफ्ना बैकिङ तथा वित्तीय कारोबार संचालन गरिरहेका छन् । स्मार्टफोनको माध्यमबाट तपाईँले पनि मोबाइल बैकिङको उपयोग गर्नसक्नुहुन्छ । तर, बेला बेलामा केही समस्याहरु आउने गरेका छन् ।

यदि तपाईँको फोन कतै हरायो वा चोरी भयो भने तपाईँको मोबाइल बैंकिङ कारोबार झनै खतरामा हुन सक्दछ । यस्तो बेलामा तपाईँले मोबाइल बैंकिङको उपयोग गर्दा केही विशेष कुराहरुमा ध्यान दिनुपर्ने हुन्छ । जसले गर्दा तपाईँको फोन हरायो वा चोरी भयो भने पनि कुनै गलत काम हुनबाट बच्न सकिन्छ ।

हामी तपाईँलाई मोबाइल बैंकिङलाई कसरी सुरक्षित गर्ने भनेर जानकारी दिने प्रयास गरेका छौं ।

आफ्ना निजी जानकारीलाई ध्यान दिनुहोस्
मोबाइल बैंकिङको उपयोग गरेको समयमा तपाईँले आफ्ना निजी जानकारीहरुलाई ध्यान दिनुहोस् । मोबाइल बैंकिङ प्रयोग गर्नको लागि तपाईँको एकाउन्ट नम्बर, जन्म मिति, पासवर्ड, डेबिट कार्ड, क्रेडिट कार्ड तथा प्यान कार्डलगायतका निजी तथा गोप्य जानकारीहरु आवश्यक पर्दछ । यस्ता जानकारीहरु ह्याकरहरुले तपाईँको फोनबाट चोरी गर्न सक्दछन् । त्यसैले यसमा हेलचेक्र्याई नगर्नुस् । सामान्य कमजोरी वा लापरबाहीले पनि तपाईँको डाटा चोरी हुनेहुँदा मोबाइल बैंकिङको उपयोग गर्दा सुरक्षाको लागि सेक्योरिटी सफ्टवेयरको प्रयोग गर्नु राम्रो हुन्छ ।

सार्वजनिक वाईफाई तथा ब्लूटूथ प्रयोग नगर्नुस्
यदि तपाईँ मोबाइल बैंकिङको प्रयोग गरिरहनुभएको छ भने तपाईँ पब्लिक वाईफाई चलाउनबाट बच्नुहोस् । हामीमध्ये अधिकांश निशुल्क उपलब्ध हुने वा सार्वजनिकरुपमा चलाउन पाईने पब्लिक वाईफाई प्रयोग गर्न रुचाउँछौ तर मोबाइल बैकिङको उपयोग गर्दा पब्लिक वाईफाई तत्काल बन्द गर्नुहोस् । किनकि यसका सुरक्षा संयन्त्रहरु सबैलाई जानकारी हुन्छ । र, वाईफाईको माध्यमबाट तपाईँको डाटा तथा जानकारीहरु ह्याक हुन सक्दछ । त्यसैगरी यस्तो पब्लिक वाईफाई वा मोबाइल ब्लूटूथको प्रयोग गरेर मोबाइलमा भाइरस पठाउन सकिन्छ । यदि तपाईको स्मार्टफोनमा भाइरस आयो भने सबै सुरक्षित डाटाहरु हराउन सक्नेछन् ।

मोबाइल नेटवर्कको प्रयोगको समयमा भाइरसको खतराबाट बच्न फोनमा एन्टि भाइरस फायरबल तथा सेफ्टी सफ्टवेयर प्रयोग तथा अपडेट गर्नुहोस् ।

ब्राउजिंग हिस्ट्रीलाई डिलिट गर्नुहोस्
मोबाइल बैंकिङको प्रयोग गर्नको लागि तपाईँको स्मार्टफोनमा इन्टरनेटको प्रयोग गर्ने गरिन्छ । यस्तो बेलामा यो ध्यान राख्नुहोस् कि तपाईँले मोबाइल बैंकिङ सेवा प्रयोग गरिसकेपछि प्रत्येक पटक आफ्नो ब्राउजिंग हिस्ट्री डिलिट गर्नुहोस् । यसले गर्दा तपाईँको स्मार्टफोन ह्याक भएमा वा भाइरसले आक्रमण गरेमा कसैले पनि डाटाको गलत प्रयोग गर्न सक्नेछैन् ।

शक्तिशाली तथा सुरक्षित पासवर्ड
यदि तपाईँ मोबाइल बैंकिङ प्रयोग गर्नुहुन्छ भने आफ्नो फोन सँधै लक गरेर राख्नुहोस् । यस्तो लकका लागि तपाईँले सुरक्षित पासवर्डको प्रयोग गर्नुहोस् । जसले गर्दा तपाईँको फोन अन्य मानिसहरुले अनलक गर्न नसकुन् । यस्तो पासवर्ड धेरै जनाले आफ्नो जन्ममिति, नाम वा मोबाइल नम्बरको रुपमा प्रयोग गर्ने गर्दछन् । तर, त्यस्ता पासवर्डहरु कमजोर मानिन्छ र छिटो ह्याक हुन सक्दछ । त्यसैले फरक किसिमको र लामो पासवर्डको प्रयोग गर्नु सुरक्षित हुन्छ ।

विश्वसनीय बेवसाइट ब्राउजरको प्रयोग गर्नुहोस्
तपाईँ मोबाइल बैकिङ प्रयोग गर्दै हुनुहुन्छ भने हरेक पटक ध्यान दिनुहोस्– तपाईँले चलाएको साइट सुरक्षित र विश्वसनीय छ कि छैन । यदि तपाईँलाई थाहा नभएको वेबसाइट छ भने त्यस्ता साइटहरु मोबाइलमा नचलाउनुहोस् । मोबाइल बैंकिङ सेवा प्रयोग गरिरहेको बेलामा अनावश्यक किसिमका वेबसाइटहरु नचलाउनुहोस् । यस्ता थाहा नभएका वेबसाइटहरु कतिपय फिसिंग वेबसाइटको रुपमा ह्याकरहरुले बनाएका हुन्छन भने कति वेबसाइटबाट भाइरस आउन सक्दछ ।

स्मार्टफोन अरुलाई प्रयोग गर्न नदिनुस्
अधिकांशले आफ्नो मोबाइल फोन परिवारका नातेदार, साथीभाइहरुलाई प्रयोगको लागि दिने गरेका हुन्छन् । तर, यदि तपाईँ मोबाइल बैंकिङ उपयोग गरिरहनुभएको छ भने त्यस्तो बेलामा फोन अरुलाई प्रयोग गर्न नदिनुहोस् । त्यस्तो बेलामा अरुलाई प्रयोग गर्न दिइओ भने तपाईँको निजी तथा गोप्य जानकारी सबैलाई थाहा हुन सक्छ ।

त्यसैगरी अरु व्यक्तिको मोबाइल फोनबाट आफ्नो मोबाइल बैंकिङ कारोबार पनि नगर्नुहोस् ।

तत्काल बैंक वा वित्तीय संस्थासँग सम्पर्क
यदि तपाईँ मोबाइल बैंकिङ प्रयोग गर्नुहुन्छ र नियमितरुपमा तपाईँ आफ्ना जानकारीहरु चेकजाँच गर्ने गर्नुहुन्छ भने त्यो निकै राम्रो हो । यसले तपाईँको कारोबारको अपडेट प्राप्त हुन्छ भने निजी डाटाहरु के कस्तो अवस्थामा छन् भन्ने थाहा हुन्छ । यदि तपाईँलाई कुनै शंका भयो वा गलत गतिबिधिहरु भएको आभास भएमा तत्काल बैंकसँग सम्पर्क गरेर आफ्नो गोप्य जानकारीहरु सुरक्षित बनाउनुहोस् ।

यदि तपाईँले उल्लेखित नियमको पालना मोबाइल बैंकिङ उपयोग गरिरहेको समयमा गर्नुभयो भने तपाईँको हरेक गतिबिधिहरु सुरक्षित र गोप्य हुनसक्दछन् । त्यसैले केही शंका हुनासाथ मोबाइल बैंकिङ बन्द गरेर आफ्नो बैंक तथा वित्तीय संस्थाको सम्पर्कमा पुग्ने प्रयासले तपाईँको मोबाइल बैंकिङ सुरक्षित हुनसक्दछ । एजेन्सीको सहयोगमा


क्लिकमान्डु