यस्तो कम्पनीको सेयर किन्न पाए पो ! रविन्द्र भट्टराईको लेख



धेरैले भन्ने गर्छन्, यस्तो जागिर खान पाए, यस्तो लुगा लगाउन पाए, यस्तो धर किन्न वा बनाउन पाए, यस्तो केटी वा केटासँग विहे गर्न पाए । यस्तो देश घुम्न पाए, यस्तो बन्न पाए, छोरा छोरीलाई यस्तो बनाउन पाए गज्जब हुने थियो भन्नेहरु पनि हुन्छन् समाजमा ।

के तपाइ हामीले कहिल्यै भनेका छौं, यस्तो व्यवसाय गर्न पाए हुन्थ्यो भनेर ? यस्तो कम्पनीको सेयर किन्न पाए हुन्थ्यो भन्ने सोच छ हामीसँग ? जब हाम्रो रोजाइमा यस्तो जोडिन्छ, त्यतिबेला हामीले अपेक्षा राखेको वा चाहेको चिजका बारेमा हामी गहिरो रुपमा जानकार छौं भन्ने बुझिन्छ । सेयर बजारमा यस्तो कम्पनीको वा यसको सेयर किन्न पाए हुन्थ्यो भन्ने अवस्थामा पुग्नु भनेको नै कम्पनीको गहिराइमा पुगेर त्यसको आवश्यकता महसुस गर्नु हो । यो भनेका दिन हामीले सवै भन्दा राम्रो कम्पनी छानेका हुन्छौ । तर सेयर बजारमा कमैले मात्र यसो भन्ने गरेका हुन्छन ।

जो यो अवस्थामा पुग्छ, ऊ सेयर बजारमा सफल हुन्छ ।

यस्तो कम्पनी भन्ने एउटा आधार कम्पनीको व्यवसायको प्रकृति हो । कतिपय कम्पनी यस्ता हुन्छन्, जसको व्यावसायको प्रकृति देख्दा लोभले एक पटक मन कटक्क हुन्छ । ती कम्पनी आफ्नो क्षेत्रमा व्यवसायीक एकाधिकार कायम गरेर बसेका हुन्छन । जसको अर्को कुनै प्रतिस्पर्धी नै हुदैन । र, त्यो कम्पनीको सेवा वा ब्यवसायमा जोडिन सबैलाई वाध्यता नै हुन्छ ।

सेयर बजारमा यस्ता कम्पनीको सेयर किन्ने चाहना धेरैको हुन सक्छ । तर, ती कम्पनी सेयर बजारमा आइसकेका हुदैनन् । यहाँ यस्तै केही कम्पनीको चर्चा गरौं ।

धेरैलाइ लाग्न सक्छ, अर्बौं कमाउने बैकका अगाडी करोड कमाउने यी कम्पनी किन रोजाइमा पर्छन् ? कुरा नाफाको परिमाणको नभइ व्यवसायिक प्रकृति र आम्दानीको सुनिश्चितताको हो । प्रतिस्पर्धात्मक युगमा एकाधिकार कम्पनी कमै पाउने गरिन्छ । तर, नेपालमा यस्ता कम्पनी धेरै छन् । राज्यले जनतालाई नठग्ने हो भने यस्ता एकाधिकारी कम्पनीको सेयर सर्बसाधारणलाई दिनुपर्छ ।

धेरै कमले सुनेको नाम हो कर्जा सुचना केन्द्र । चुक्ता पुँजी दश करोड रहेको यो कम्पनीको जगेडा कोष त्यसको चार गुणा भन्दा बढी अर्थात ४० करोड भन्दा माथि छ । विगतमा निरन्तर नाफा बाँड्दै आएको यो कम्पनीले २०७२÷७३ मा पुँजीको शतप्रतिशत भन्दा बढी अर्थात १२ करोड नाफा कमाएको छ ।

यो कम्पनीमा नेपाल राष्ट्र बैंक, बाणिज्य बैक, फाइनान्स कम्पनी र विकास बैक संस्थापक छन् । नेपाल राष्ट्र बैंकको स्वीकृतिमा खुलेको यो संस्थाको सेयर हालसम्म सर्वसाधारणमा निस्कासन भएको छैन । राष्ट्र बैंकले यसको सेयर जारी गर्ने आवश्यकता किन ठानेन ? जव कि त्यहीबाट स्वीकृति लिएका बैंक वित्तीय संस्थालाई जारी पुँजीको ३० प्रतिशत सेयर जारी गर्ने अनिवार्य व्यवस्था गरिएको छ ।

कर्जा सुचना केन्द्रले बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएका ऋणीहरुको सुचना राख्ने र यसका सदस्यहरुलाई सुचना दिने काम गर्छ । मानौं तपाइ बैकमा ऋण माग्न जानु भयो भने बैकले तपाइले अन्य बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋण र तपाइ कतै ऋण नतिरेर कालो सुचीमा परे नपरेको विवरण यही संस्थाबाट लिने गर्छ । जुन सुचना लिए बापत बैंकले यो सुचना केन्द्रलाई पैसा तिर्नु पर्छ । र, यो अनिवार्य छ । जुन शुल्क हाम्रो ऋणको लागतमा जोडिने गर्छ । यस्तो सुचना संकलन गर्ने र वितरण गर्ने नेपालमा अर्को कुनै संस्था छैन । यो व्यवसायमा यसको एकाधिकार छ । सेयर बजारमा हामी त्यस्ता कम्पनीको खोजीमा हुन्छौं, जसको हरेक सेवामा पैसा आओस र उक्त सेवा लिनु अरुको लागि वाध्यकारी होस र व्यवसायिक एकाधिकार पनि होस् ।

यस्तै अर्को कम्पनी नेपाल क्लियरिंग हाउस हो । जसको व्यवसायिक प्रकृति कर्जा सुचना केन्द्रको जस्तै छ । सन् २००८ मा खुलेको यो कम्पनी एकाधिकारी कम्पनी हो । १५ करोड चुक्ता पुँजी भएको यो कम्पनीको नाफाको बार्षिक बृद्धि दर ४३ प्रतिशत भन्दा बढी छ । नेपाल राष्ट्र बैंकको स्वीकृतिमा खुलेको यो कम्पनीमा पनि राष्ट्र बैकलगायत अन्य बैक तथा वित्तीय संस्थाको लगानी छ ।

तपाइ हामीले लेखेका वा पाएका एकाउन्टपेयी चेक यही संस्थाले विद्युतीय माध्यममार्फत राफसाफ गर्ने गर्छ । पाँच सय भन्दा बढीको हरेक चेक राफसाफ (क्लियरिंग) मा हामीले शुल्क बुझाउनु पर्छ । तर, अहिलेसम्म यो कम्पनीले सर्वसाधारणमा सेयर जारी गरेको छैन । म राष्ट्र बैंकलाइ पुनः प्रश्न गर्न चाहन्छु यो कम्पनीले सर्वसाधारणमा सेयर जारी गर्नु पर्छ कि पदैन ?

यो कम्पनीको एकाधिकार प्रकृतिको व्यवसाय देख्दा लाग्छ, यसकोे सेयर किन्न पाए नाफामा सुनिश्चितता बढ्ने थियो । दश लाख रुपैयाँभन्दा माथिको नगद कारोबार गर्न नपाइने नेपाल राष्ट्र बैंकको पछिल्लो निर्देशनले यसको व्यवसाय थप विस्तार हुने देखिन्छ । १५ करोड रुपैया चुक्ता पुँजी रहेको यो कम्पनीको जगेडा तथा कोष करिव ४ करोड रुपैयाँ छ । विगत दुई बर्षबाट नियमित लाभांश बाँडेको यो कम्पनीको चार बर्ष अघि ६६ लाख ऋणात्मक जगेडा कोष थियो ।

धेरैलाइ लाग्न सक्छ, अर्बौं कमाउने बैकका अगाडी करोड कमाउने यी कम्पनी किन रोजाइमा पर्छन् ? कुरा नाफाको परिमाणको नभइ व्यवसायिक प्रकृति र आम्दानीको सुनिश्चितताको हो । प्रतिस्पर्धात्मक युगमा एकाधिकार कम्पनी कमै पाउने गरिन्छ । तर, नेपालमा यस्ता कम्पनी धेरै छन् । राज्यले जनतालाई नठग्ने हो भने यस्ता एकाधिकारी कम्पनीको सेयर सर्बसाधारणलाई दिनुपर्छ । भट्टराई सेयर बजार विश्लेषक हुन् ।


क्लिकमान्डु