उद्यमशील बन्न अब पैसा चाहिदैन, नयाँ सोच भए यहाँ जानुस्




काठमाडौं । ब्यबसाय गर्ने नयाँ र आकर्षक सोच भएपनि पैसाको अभाबमा त्यसै बस्नु भएको छ ? छ भने अब चिन्ता नलिनुस् । सरकारले तालिमदेखि पैसासमेतको बन्दोबस्त मिलाइ दिएर तपाइलाई उद्यमशील बनाउँदै छ ।

उद्योग मन्त्रालय अन्तरगतको औद्योगिक ब्यवसाय विकास प्रतिष्ठानले उद्यम ब्यवसायको लागि नबिनतम सोच भएका ब्यक्तिहरुलाई आर्थिक, प्राविधिक, ब्यवसायिक र अन्य सहयोग गर्ने कार्यक्रम संचालन गर्ने भएको छ ।

प्रतिष्ठानले सोमबार सार्बजनिक सुचना प्रकाशित गरेर नयाँ सोच भएका ब्यक्तिलाई आवेदन दिन भनिएको छ ।

कस्तो छ सुचना ?
प्रतिष्ठानले सार्बजनिक गरेको सुचना अनुसार उद्यम ब्यवसाय गर्नको लागि कुनै अध्ययन, अनुसन्धान, अन्वेषणमा आधारित वा अन्य नविनतम सोच भएका ब्यक्तिले यो अबसर पाउने छन् । त्यस्तो अन्वेषण वा सोचलाई वास्तविक ब्यवसायमा बदल्न प्रतिष्ठानले सहयोग गर्न लागेको हो ।

‘औद्योगिक ब्यवसाय विकास प्रतिष्ठानले तपाइहरुलाई त्यस्तो नयाँ किसिमको र राम्रो सम्भाब्यता भएको उद्यम/ब्यवसाय सिर्जना तथा विस्तार गर्न सहयोग गर्नका लागि काठमााडौंमा स्टार्टअप कार्यक्रम संचालन गर्न गइरहेकोले इच्चछुक नेपाली युवाहरुले निवेदन दिनुहुन यो सुचना प्रकाशित गरिएको छ,’ सुचनामा भनिएको छ ।

कहाँ दिने निवेदन ?
प्रतिष्ठानले संचालन गरेको यो कार्यक्रम ‘समुन्नत नेपालका लागि उद्यमी तथा उद्योगको सशक्तिकरण’ कार्यक्रम हो । यो कार्यक्रममा सहभागी हुन चाहने नयाँ योजना भएका युवाहरुले प्रतिष्ठानको केन्द्रीय कार्यालय त्रिपुरेश्वरमा सम्पर्क गर्नुपर्नेछ । यो काम प्रतिष्ठानको केन्द्रीय कार्यालय त्रिपुरेश्वर काठमाडौंबाट मात्रै हुनेछ ।

कस्तो छ प्रक्रिया ?
उद्योग ब्यवसाय संचालनको लागि नविनतम योजना भएका युवाहरुले आफ्नो सोचसहितको निवेदन प्रतिष्ठानमा जेठ २४ गतेभित्रमा बुझाउनु पर्नेछ । यसपछिको सम्पर्क मिति जेठ २८ गतेलाई तोकिएको छ ।

निवेदन प्राप्त भएपछि त्यसरी प्राप्त भएका निवेदनमाथि विज्ञ टोलीले स्क्रिनिङ्ग गर्ने प्रतिष्ठानकी सहायक निर्देशक मलिना श्रेष्ठले जानकारी दिइन् ।

विज्ञले स्क्रिनिङ्ग गरिसकेपछि छनोट भएका प्रस्तावकहरुलाई प्रस्तुतीकरणको लागि बोलाइने छ । त्यसपछि ३ दिनको ओरेन्टेसन तालिम प्रतिष्ठानले प्रदान गर्नेछ । त्यसपछि २० जना प्रस्तावकलाई राखेर बुटक्याम्प संचालन गरिने श्रेष्ठको भनाइ छ ।

बुटक्याम्पमा उत्कृष्ट देखिएका ५ जना प्रस्तावकको लागि लगानीदेखि सबै प्रकारका सहयोग प्रतिष्ठानले ब्यवस्था गरिदिनेछ । त्यस्तो बुटक्याम्पमा लगानी गर्ने रकम भएका निजी क्षेत्रका लगानीकर्ता पनि सहभागी हुने भएकोले उनीहरुको कोष परिचालन गर्ने सोच प्रतिष्ठानको छ ।

नयाँ सोचमध्ये सुचना संचार तथा प्रविधिसँग सम्बन्धित सोचको लागि प्रतिष्ठानले कार्यकक्ष, कम्प्युटर र इन्टरनेटको ब्यवस्था गर्नेछ । थप तालिमको आवश्यक देखिए ५० हजार रुपैयाँसम्मको तालिम प्रदान गरिने गृहकार्य भएको श्रेष्ठले जानकारी दिइन् ।

यो सबै प्रक्रिया सम्पन्न भएपछि प्रस्तावक युवाले आफ्नो सोच अनुसारको नयाँ परियोजना संचालन गर्ने आर्थिक, प्राविधिक र बजारिकरण जस्ता आवश्यक पक्षमा सहयोग पाउने प्रष्ठिानले जानकारी दिएको छ ।


क्लिकमान्डु