अवैध सूर्तीजन्य पदार्थ नियन्त्रणमा निस्कियो राजस्व विभाग



काठमाडौं । आन्तरिक राजस्व विभाग अवैध सूर्तीजन्य पदार्थ नियन्त्रणमा  निस्केको छ ।

विभागबाट खटिएका कर्मचारी र करदाता सेवा कार्यालयको संयुक्त टोलीले राजधानीका विभिन्न पान पसलहरुमा जेठ ५ गते शुक्रवार एकै समयमा अनुगमन गरेको छ ।

विभिन्न व्राण्डका पान मसला सूर्ती, गुट्खा, खैनी लगायतका वस्तु राजस्व नतिरी अनधिकृत तवरबाट आयात गरी बिक्री वितरण गरिरहेको सूचनाका आधारमा अनुगमन गरिएको हो । नेपालमा राजस्व तिरेर सञ्चालन गरिरहेका सूर्तिजन्य उद्योगलाई प्रत्यक्ष असर पार्ने गरी अनाधिकृत रुपमा सूर्तिजन्य पदार्थको कारोवार भएको जानकारी हुनासाथ सो नियन्त्रण गर्न तथा राजस्व चुहावट नियन्त्रण गर्न विभाग सक्रिय भएको छ ।

आन्तरिक राजस्व आन्तरिक राजस्व विभागबाट खटिएको टोलीलाई सूर्ती, खैनी, गुट्खा, पान मसलामा स्टीकर टा“स भए नभएको र स्वास्थ्य सम्बन्धी चेतावनीमूलक सन्देश र चित्र अंकित भए नभएको हेर्ने, नियमानुसार नभएको देखिए जफत गर्ने अधिकार प्राप्त थियो ।

त्यसैगरी सूर्ति, खैनीको ४ सय ग्रामको आउटर प्याकेट गुट्खा, पान मसला, माउथ फ्रेसनरको १५० ग्रामको आउटर प्याकेट नभए जफत गर्ने तथा पसलबाट छिरेर गोदामसम्म पुग्न निर्देशन दिइएको थियो । टोलीले अनुगमन गर्दा विभिन्न व्राण्डका अवैध सूर्ती, खैनी, गुट्खा तथा अवैध रुपमा भित्रिएको ब्ल्याक ब्राण्डको चुरोट समेत फेला पारी कव्जामा लिई कारवाही अगाडि बढाएको छ ।


क्लिकमान्डु