अदालतको फैसलापछि एनएलजी इन्स्योरेन्सबाट विजय शाहले राजिनामा दिए



काठमाडौं । पाटन उच्च अदालतको फैसलापछि एनएलजी इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सिइओ) विजयबहादुर शाहले पदबाट राजिनामा दिएका छन् ।

अदालतले लगातार दुई कार्यकाल प्रमुख कार्यकारी अधिकृत पदमा काम गरेको व्यक्ति पुनः सिइओमा बस्न नपाउने फैसला गरेपछि शाहले पदबाट राजिनामा दिएका हुन् ।

‘अदालतको फैसलापछि बिहीवार (आज) नै आफुले पदबाट राजिना दिएको छु,’ शाहले क्लिकमाण्डुसँग भने ।

बीमा समितिले जारी गरेको संस्थागत शुसासन निर्देशिकामा लगातार प्रमुख कार्यकारी अधिकृत पदमा दुई कार्यकालभन्दा बढी बस्न नपाउने व्यवस्था गरेको थियो । तर, कार्यकाल गणना निर्देशिका जारी भएपछि गर्ने वा निर्देशिका जारी नहुँदै गर्ने विवादमा पाटन उच्च अदालतले निर्देशिका जारी नहुँदैको अवस्था पनि कार्यकाल गणना गर्नुपर्ने फैसला गरेको छ ।

पाटन उच्च अदालतका न्यायधीशद्वय श्रीकान्त पौडेल र रमेशकुमार खत्रीको सयुक्त इजलाशले यस्तो फैसला गरेको छ ।

एनएजजी इन्स्योरेन्सले शाहलाई तेस्रो कार्यकालको लागि नियुक्ति गरेपछि बीमा समितिले त्यसमा सहमति दिएको थिएन । बीमा समितिका तत्कालिन अध्यक्ष फत्तबहादुर केसीले शाहको दुई कार्यकाल पुगेको भन्दै सिइओ पदमा नियुक्तिको सहमति दिएनन् । त्यसको विरुद्ध शाह उच्च अदालत गएका थिए । अदालतले शाहलाई पदमा काम गर्न अन्तरिम आदेश दिएपनि बुधवारको इजलाशले अन्तरिम आदेश खारेज गर्दै बीमा समितिले गरेको निर्णयलाई सदर गरेको हो ।

अदालतको आदेशले निर्देशिका आउनु अगाडिदेखि कै कार्यकाल गणना हुने भएको छ । यसभन्दा अगाडि कैलाश विकास बैंकका अध्यक्षको हकमा पनि अदालतले यस्तै फैसला गरेको थियो ।

नियामक निकायले निर्देशिका आएपछि कार्यकाल गणना हुने बताएपनि अदालतले नियम आउनुभन्दा अगाडि नै कार्यकाल गणना हुने फैसला गरेको छ । यसले धेरै बैंक वित्तीय संस्था तथा बीमा कम्पनीमा सिइओ पदहरु खाली हुने छन् ।

शाह बीमा कम्पनीको सिइओहरुको संस्था नेपाल बीमक संघका अध्यक्ष पनि हुन् ।


क्लिकमान्डु