भारतका राष्ट्रपति नेपाल आउँदा नेपाली प्रहरीले खाए ६० लाख ६८ हजारको खाजा !




काठमाडौं । भारतीय राष्ट्रपति प्रणव मुखर्जीको नेपाल भ्रमणमा गृहमन्त्रालय अन्तरगतका सुरक्षा निकायले खाजा र खाना शिर्षकमा राम्रै पैसा खर्च गरेका छन् । मुखर्जीको नेपाल भ्रमणको बेला सुरक्षा दिन खटिएका नेपाली सुरक्षाकर्मीको खाजा र खानामा ६० लाख ६८ हजार रुपैयाँ खर्च भएको छ ।

अर्थमन्त्रालयले गत चैत महिनामा मात्रै गृह मन्त्रालय अन्तरगतका तीनवटै सुरक्षा निकायको खाजा र खाना शिर्षकमा ६० लाख ६८ हजार रुपैयाँ दिएको छ । कात्तिक ११ गतेको मन्त्रिपरिषद बैठकले मुखर्जीको नेपाल भ्रमणका क्रममा खटिने सुरक्षाकर्मीलाई खाजा र खाना खर्च दिने निर्णय गरेको थियो ।

मुखर्जीको भ्रमणमा खटिएका सुरक्षाकर्मीको लागि खाजा र खाना शिर्षकमा सबैभन्दा धेरै खर्च नेपाल प्रहरीले गरेको छ । अर्थमन्त्रालयले भैपरी आउने साधारण प्रशासन शिर्षकको बजेटबाट ३९ लाख १२ हजार रुपैयाँ रकमान्तर गरी प्रहरी प्रधान कार्यालयलाई दिएको छ ।

मुखर्जीले गत कात्तिक १७ गतेदेखि १९ गतेसम्म तीन दिने नेपाल भ्रमण गरेका थिए । सो भ्रमणको क्रममा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको थियो । मुखर्जीको नेपाल भ्रमणमा सुरक्षा दिन दिनरात खटिएका प्रहरीलाई सरकारले खाजा र खाना खर्च दिएको हो ।

यस्तै ससस्त्र प्रहरी बल अन्तरगतका प्रहरीले पनि खाजा र खानामा २० लाख रुपैयाँभन्दा बढी खर्च गरेका छन् । अर्थमन्त्रालयले भैपरी आउने साधारण प्रशासन शिर्षकको बजेटबाट २० लाख १५ हजार २५० रुपैयाँ रकमान्तर गरी ससस्त्र प्रहरी बललाई दिएको छ । मुखर्जीको नेपाल भ्रमणमा ठूलो संख्यामा ससस्त्र प्रहरी पनि परिचालन गरिएको थियो ।

गृहमन्त्रालय अन्तरगतको जासुसी निकाय राष्ट्रिय अनुसन्धान विभागले पनि त्यो बेला १ लाख ४० हजार रुपैयाँभन्दा धेरै रकम खाजा र खानामा खर्च गरेको छ । अर्थमन्त्रालयले भैपरी आउने साधारण प्रशासन शिर्षकको बजेटबाट १ लाख ४० हजार ७५० रुपैयाँ रकमान्तर गरी राष्ट्रिय अनुसन्धान विभागलाई दिएको छ ।

गृह मन्त्रालय अन्तरगतका तीनवटै सुरक्षा निकायले खाजा र खानामा गरेको खर्च ६० लाख ६८ हजार रुपैयाँ हुन आउछ ।


क्लिकमान्डु