चिया बगानमा मजदुर अभाव



इलाम । पञ्चकन्या केराबारीकी ज्ञानु राई आफैं चियाको मुना हरियो पत्ती टिप्ने गर्छिन् । ५० रोपनीमा लगाएको चियाको पत्ती टिप्न आफैँं खट्नुपर्ने उनलाई बाध्यता छ ।

कन्यामकी गुडिया आले एक दशकअघि गाउँबाट लर्को लागेर सीमापारी मिरिक क्षेत्रका चिया बगानमा काम गर्न गएको अझै सम्झेकी छन् । तर पछिल्लो समय चिया बगानमा काम गर्ने मान्छे भेटिन छाडेका छन् ।

चियामा मात्रै होइन अन्य खेतीबारीमा पनि कामदारको अभाव छ । उचित पारिश्रमिक नपाएपछि मजदुरले चियाको पत्ती टिप्न छाडेका हुन् । बढ्दो चिया बगान र वैदेशिक रोजगारीतर्फ युवाको आकर्षण बढ्दा कृषि क्षेत्रमा काम गर्ने श्रमिक पाउन छाडेको छ ।

जिल्लाका पूर्वी भेगमा घर÷घरमा चिया बगान हुनथालेपछि श्रमिकको अभाव भएको छ । ‘बस्ने, खाने सबै व्यवस्था गरेर समेत मजदुर पाउन सकेको छैन,’ कन्यामका काजीमान कागतेले भने, ‘बगान थपिदै गएपनि काम गर्ने जनशक्ति घटेको छ ।’

चिया रोप्नेदेखि टिप्ने र काँटछाटका लागि पर्याप्त जनशक्ति आवश्यक हुन्छ । वैशाखयता जिल्लामा दैनिक एक लाख किलो हरियो चियापत्ती उत्पादन भइरहेको छ । चिया किसानले यतिबेला आकर्षक पारिश्रमिकसहित कामदार खोजिरहेका छन् । अन्तुका इन्द्रबहादुर दर्लामी आफ्नै बगानमा दिनभर पत्ती टिप्ने गर्छिन् । “चिया टिप्ने मजदुर खोज्दा कोही पाइँदैन्,” उनले भने ।
मजदुर अभावका कारण कतिपय बगानमा हरियोपत्ती हुर्किएर जान थालेको छ । केन्द्रीय चिया सहकारी संघका अनुसार अहिले जिल्लामा साना ठूला गरी ३० हजारको हाराहारीमा चिया किसान छन् । निजी बगानमा मात्र होइन नेपाल चिया विकास निगमअन्तर्गतका बगानमा पनि चिया श्रमिकको संख्या घट्दो छ ।


क्लिकमान्डु